इरान–इजरायल युद्धः इजरायलमा रहेका ५ हजार नेपाली सुरक्षित छन् ?

काठमाडौं । नेपालीको आकर्षक गन्तव्य मानिएको इजरायल र इरानबीच युद्ध चर्किँदै गएपछि नेपाली श्रमिकको सुरक्षालाई लिएर देशमा चासो बढेको छ भने त्यहाँ रहेका उनीहरु आफैं सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।
आइतबार पनि इजरायलमा विस्फोटका आवाज सुनिएका छन् । इरानले हाइफा र तेलअभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलको कृषि र कियरगिभर क्षेत्रमा ५ हजार ५ सय नेपाली श्रमिक कार्यरत छन् । दुई देशबीच बढ्दो तनावबाट नेपाली श्रमिक कसरी सुरक्षित भएर काम गरिरहेको छन् त ? इजरायलमा कार्यरत काभ्रेका शिवराज खड्काले भनेः
इजरायलमा साइरन बज्ने विषय सामान्य हुन्थ्यो । हिजबुल्लाह र हमाससँग भएको युद्धले हामीलाई त्रसित बनाएको थिएन । इरानसँगको युद्धले अलि हामीलाई डर पैदा गरेको छ । पहिला पहिला इजरायलको निश्चित ठाउँमा मात्रै सुरक्षा खतरा छ भनेर ‘अलर्ट म्यासेज’ आउँथ्यो । अहिले इजरायलभरि नै खतरा छ भनेर अलर्ट म्यासेज आउँछ ।
अहिले इजरायलको आइरन डोमले शतप्रतिशत इरानको मिसाइललाई आकाशमा नै निस्तेज पार्न सकिरहेको छैन । यो जमिनमा खसेर क्षति पुर्याइरहेको छ । यसले गर्दा पनि हामीलाई डर पैदा भएको भइरहेको छ । पहिला जसरी आइरन डोमले सुरक्षा प्रदान गर्छ भनेर सुरक्षित हुने अवस्था छैन ।
हामी सुरक्षाको लागि बंकरमा जान्छौँ । बंकर नै अहिलेको लागि सबैभन्दा सुरक्षित स्थल हो । यो युद्ध कसरी अगाडि बढ्छ ? कति लामो जान्छ भन्नेमा अन्योल, डर र त्रासमै छौँ ।
कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस