• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

इजराइलको हमलाबाट इरानका गुप्तचर प्रमुख मारिए, सर्वाेच्च नेता खामेनी निसानामा

एजेन्सी । इजरायल–इरान युद्धकाे पाराे थप उच्च बिन्दुतर्फ गइरहेकाे छ । दुवै देशले हमलाकाे निशाना उच्च नेता र अड्डाहरूमा बनाइरहेका छन् ।

इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।

गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको  आइआरजिसीद्वारा सञ्चालित तान्सिम न्युज एजेन्सीलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।

इजराइलले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ। इजराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको बताएका छन्।

इजराइलली हमलामा पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए। आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी शुक्रबारको भीषण हमलामा मारिएका थिए।

न्यू योर्क टाइम्सका अनुसार आइआरजिसीको वायुसेना प्रमुख जनरल अमिर अली हाजीजदेह, इरानी सशस्त्र बलका इन्टेलिजेन्स उपप्रमुख जनरल घोलम्रिजा मेहराबी, सशस्त्र फोर्सका सहायक कमान्डर जनरल मेहदी रब्बानी लगायतका अधिकारी मारिएका छन्।

सर्वोच्च नेता आयातोल्लाह अल खामेनीका मुख्य सल्लाहकार तथा लोकप्रिय नेता अली शमखानी पनि शुक्रबारकै हमलामा मारिएका छन्। उनी अमेरिकासँगको परमाणू वार्तामा समेत सहभागी थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने इजराइलको योजना रोकेको खुलेको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इजराइलले इरानी सर्वोच्च नेता खामेनीको हत्या गर्ने मौका उपलब्ध भएको भनेर ट्रम्पसँग परामर्श गरेका थिए।

शुक्रबार इरानमाथि आक्रमण गरेपछि इजराइलली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लगातार ट्रम्पसँग सम्पर्क र कुराकानी गरिरहेका छन्।

सोही क्रममा उनले खामेनीको हत्या गर्ने योजना सुनाउँदा ट्रम्पले अस्वीकार गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले खामेनीलाई चाहिँ तत्काल नमार्नू भनेर निर्देशन दिएका थिए। उनले अमेरिका दुई देशबीचको द्वन्द्वमा तत्काल प्रत्यक्ष संलग्न हुन नचाहेको खुलाएका थिए।

ट्रम्पले अझै पनि इरानसँग परमाणू कार्यक्रम रोक्नेबारेको वार्ता हुने विश्वास राखेको र आक्रमण रोकेर वार्तामा आउन पटकपटक आग्रह पनि गरेका छन्। यद्यपि ओमानको मस्कटमा आइतबार हुने भनिएको वार्ता रद्द भएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर