• २०८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025

बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता हुने

नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा ‘दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता’ हुने भएको छ । 

प्रतियोगिता यही असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जानकारी दिइयो । 

आयोजकका अनुसार प्रतियोगितामा ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहनेछ ।

नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो । 

प्रतियोगितामा फाइटिङ, सेल्फ–डिफेन्स जस्ता प्रमुख इभेन्ट समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालीबहादुर मगरले बताए । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिलातर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ । 

नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्त्वपूर्ण पाइला भएको बताएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा गरिने अध्यक्ष घर्ती मगरले जानकारी दिए । 

अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यका लागि अनुरोध पनि गरेका छन् ।

प्रतियोगिता देविनगरस्थित नविन औद्योगिक माविको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर