धरानमा मेयर र उपमेयरबिच कार्यालय परिसरमा लफडा

धरान । मेयर हर्क साम्पाङका समर्थकले उपमेयर अइन्द्रविक्रम बेघामाथि हातपात गर्न खाेजेपछि धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त बनेको छ। 

मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका छन्। लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुबै समूह ठूलो संख्यामा कार्यालयमा भेला भएर नाराबाजीसमेत गरिरहेको छ। 

उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो। नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा नगरमा आएका थिए। उनीहरूले सोमबार पनि उपमेयरमाथि हातपात प्रयास गरेका थिए। 

यो तनावको मुख्य कारण बनेको छ, धरान-१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जाली।

विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि नै श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो। तर, काम सकिएको धेरै पछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेस गरेका थिए।

श्रमदानबाट पहिल्यै भइसकेको काममा नगरबाट भुक्तानी गर्न नमिल्ने भनेर उपमेयरले अडान लिएपछि मेयर साम्पाङ रुष्ट बनेका थिए।

त्यसपछि उपमेयरले श्रमदानको पैसा भुक्तानी रोकेको भन्दै मेयरले आफ्ना समर्थकहरूलाई नगरमा आउन सर्वाजनिक आह्वान गरेका थिए।

धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङले आफू नजिकका मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरबाट पैसा भुक्तानी गराउन खोजेको बताएका छन्। 

मेयर साम्पाङले भने सर्दु खोलाको बाढीले हानी गर्ने भएकाले उपभोक्ता समिति जहाँको बनाए पनि हुने, खोला कुनै वडामा नपर्ने बताउँदै आएका छन्।

श्रमदानका लागि भेला भएका श्रमदाताहरूले मजदुरका रुपमा डोर हाजिरीसमेत गरेको भेटिएपछि उपमेयरले अनुमगन गर्न अस्वीकार गर्दै रकम भुक्तानी रोकेका थिए।

मेयर साम्पाङ भने श्रमदानको पनि भुक्तानी नगरबाट हुने भन्दै अडान लिइरहेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर