कांग्रेसमा कलहः ४ मन्त्रीले दिए राजीनामा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र अहिले अन्तरकलह चर्किएको छ । सभापति शेरबहादुर देउवाका विरुद्धमा नेता शेखर कोइरालाले योजनावद्ध अभियान चलाएका छन् ।

शेखर पक्ष वर्तमान सत्ता गठबन्धन भत्काउने पक्षमा छन् भने देउवा यसको निरन्तरता र केहीसमयपछि प्रधानमन्त्री नै पाउने आशामा छन् । शेखर पक्ष भने देउवालाई कमजोर बनाएर पार्टी र सत्तामा कब्जा जमाउने तयारीमा छ । 

बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।

बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।

यहाँ कांग्रेसले सांसद ईन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउन खोजेको छ। बानियाँ कांग्रेस बागमती प्रदेश सभापति पनि हुन्।

‘मुख्यमन्त्रीले आधा-आधा कार्यकाल भन्ने पूर्वसहमति मान्नुभएन। अब यहाँ सेट परिवर्तन हुन्छ, मुख्यमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव दर्ता गर्छौं,’ महर्जनले भने।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ । 

पत्रमा भने २१ जनाले मात्र हस्ताक्षर गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर