एमाले छाेडेका बाम नेता भरत प्रसाद साह माओवादी प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड´ले टीका लगाई पार्टी प्रवेश गराएका हुन्।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरे । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाए ।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ।
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेका हुन्।
पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरे । साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस