• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

एमालेमा गुटः इश्वर पोखरेल पूर्व राष्ट्रपति भण्डारीको पक्षमा खुल्न थालेका हुन् ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्रको अन्तरसंघर्ष यतिबेला भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको छ । 

कतिपय नेताहरुले आँट गरेर यसबारे सार्वजनिक रुपमा पनि बोलिरहेका छन् । तर धेरै जसो नेताहरु मनमा कुरा भएपनि बाहिर बोल्ने आँट गरिरहेका छैनन् ।  

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सक्रियताले एमाले भित्र एकछत्र अधिनस्थ जमाइरहेका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र उनी पक्षीय नेताहरुमा चिढ्चिडाहट देखिन्छ ।

एमाले भित्र अहिलेपनि उकुसमुकुस महशुस गरिरहेका नेताहरुले बोल्ने आँट गरेका छन् ।     

त्यसको पछिल्लो र उच्च तहको नेता हुन् वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल । अध्यक्ष्क केपी ओलीले पार्टीमा ७० वर्षे उमेरहद र दुई वर्षे कार्यकालको औचित्य सकिएको बताइरहँदा उनै पोखरेलले औचित्य नसकिएको र आगामी विधान महाधिवेशनमा छलफल गरेर लागू गर्ने बताए । 
उनी अहिले पनि भन्छन्ः हाम्रो पार्टीले ७० वर्ष उमेर हदलाई हालका लागि स्थगन गरेको हो । दसौं महाधिवेशन र विधान महाधिवेशनमा पास भएको विधानमा उमेर हदको कुरा स्पष्ट रूपमा किटान गरिएको छ, तर व्यावहारिक ढंगले केही समाजवादीबाट आउने साथीहरूको हकमा तत्काल अप्ठ्यारो नहोस् भनेर स्थगन गरिएको हो । विधानको प्रावधान के हो भने भने स्थगन गरिएको कुरा पनि विधान महाधिवेशनमा अनुमोदनको लागि प्रस्तुत गर्नुपर्छ । यदि अनुमोदन भयो भने स्थगन लागू हुन्छ, नभए उमेरहद् लागू हुन्छ । 

उनले विद्या भण्डारीको पार्टी राजनीतिमा सक्रियताबारे भनेः उहाँ यही पार्टीमा हुर्किनुभयो । यही पार्टीले उहाँलाई बनायो । अहिले म यो पार्टीबाट कसरी अलग हुन सक्छु भन्नुभएको छ । यो मलाई अनुचित लागेको होइन । उहाँलाई पार्टीले राष्ट्रपतिसम्म बनाएको पार्टी हो नि । उहाँले एमालेको राजनीतिप्रति रुचि राख्नु के अस्वाभाविक कुरा हो र ?

यसबारे सिंगो एमाले विभक्त छ । कतिपय भण्डारी पक्षीय नेताहरु कम्तिमा ६० प्रतिशत एमाले नेता कार्यकर्ता भण्डारीको अपरिहार्य पुनरागमनको पक्षमा रहेको दावी गर्दछन् । तर उता ओली पक्षीय नेतहरु एमालेमा मात्रै होईन देशमा नै ओलीको विकल्प नै नभएको तर्क गर्छन ।

उपाध्यक्ष प्रदीप ज्ञवालीले भनेका छन्ः आन्दोलनको आवश्यकताले नेतृत्व निर्माण गर्ने मुख्य प्रश्न हो । अरु विषय प्राविधिक हुन् भन्ने लाग्छ । अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै ७४ मा लाग्दै छु तर पनि पार्टीको नेतृत्व उमेरभन्दा विचार, राजनीति र आन्दोलनले गर्ने अर्थमा भन्नुभएको हो । ७० वर्षे उमेर हलको व्यवस्था सैद्धान्तिक प्रश्न होइन । यतिबेला पार्टीमा बहस गर्न जरुरी हुँदैन । आन्दोलनको आवश्यकता के हो भन्ने कुराले अरु विषय तर्जुमा गर्ने कुरा हो । ७० वर्षकाथिकाले नेतृत्व गर्न सक्दैन, त्योभन्दा तलका उमेरले नेतृत्व गर्न सक्छ भन्नु गलत हुन्छ । किनकि नेतृत्व विचार, राजनीति र आन्दोलनको आधारमा निर्माण हुन्छ ।

भण्डारीको राजनीतिक सक्रियताबारे पनि ज्ञवाली विपक्षमा छन् । उनी भन्छन्ः अहिले नै केही साथीहरुबाट यो चर्चा गरेको सुनिन्छ । यो चर्चा असान्दर्भिक छ । महाधिवेशनको मिति तोकिएको छैन । को नेतृत्वमा आउनेरनआउने आगामी महाधिवेशनमा बहस हुने होला । अहिले नै को नेतृत्वमा आउने, को नआउने बहसले आन्दोलनमा भ्रम सिर्जना गर्छ । एकाग्र भएर सरकार र पार्टीको मिसनमा लाग्ने बेला अहिले नेतृत्वको कुरा गरेर भ्रम सिर्जना गर्नु हुँदैन । यसमा साथीहरुका बुझाइ र चासो होलान् । यसले राम्रो भएको छैन ।

यसै मेसोमा मंगलबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकोको उनी निकट स्रोत बताउँछ ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर