दाउन्ने पाँच दिनदेखि अवरुद्ध, १५ सय गाडी अड्किए

बुटवल । पाँच दिनदेखि अवरुद्ध दाउन्ने सडकमा ग्राभेल राखेर बाटो सहज बनाउन त्यहाँ रोकिएका करिब १५ सय गाडी फिर्ता पठाउन सुरु भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत दुम्कीवास र बर्दघाटको बिचमा रहेको दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ५ दिनदेखि अलपत्र परेका गाडी त्यहाँबाट फिर्ता पठाउन थालिएको छ । पूर्व-पश्चिम हिँडेका रित्ता ट्रक दाउन्ने आसपासमा थुप्रिएका छन् । त्यहाँ यात्रुबहाक बस र साना गाडी छैनन् ।

पूर्वी नवलपरासीका एसपी यादव ढकालले दाउन्नेको सडक मर्मत गर्न राजमार्ग खाली गराउन दुम्कीवासदेखि होंसी सिमेन्ट कारखाना चोकसम्म जाममा फसेका १५ सय गाडी फर्काइरहेको सुनाए । शनिबार साँझसम्म ७ सय गाडी दाउन्नेबाट हटाएको र आइतबारसम्म सबै गाडी ट्रक हटाइसक्ने ढकालले जानकारी दिए । दाउन्नेमा खण्डका गाडी हटाउन दर्जनौं प्रहरी खटाइएको छ ।

आइतबारसम्म दाउन्ने बजारदेखि होंसी सिमेन्टको चोकसम्म जाममा परेका सबै गाडी हटाएर ग्राभेल बोक्ने टिपर दौडाउन बाटो खाली गराउने ध्याउन्नमा प्रहरी खटेको छ ।

गाडी जताबाट गएका हुन त्यतै फकाइएको छ । बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको गाडी बर्दघाटतिर नै फर्काइएको छ । र दुम्कीवासबाट बर्दघाटतर्फ जाँदा फसेका गाडी अरुणखोला कावासोतीतर्फ फर्काइएको उनले जानकारी दिए । गाडी फर्काएर दाउन्ने सडक खाली गर्ने र राजमार्ग निर्माणको ठेकेदार कम्पनीले फटाफट ग्राभेल राख्ने काम सुरु गर्ने ध्याउन्नले काम भइरहेको ढकालले जानकारी दिए । 'हामी सडक रित्तो बनाइदिन्छौ अरु काम सडक निर्माण ठेकेदारको हो,' उनले भने, 'आजैबाट रातभरि ग्राभेल बोक्न मिल्छ ।'

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्ने सडकमा जाममा परेका गाडी नहटाउँदासम्म त्यहाँ विनयी खोलाबाट ग्राभेलसमेत लैजान नमिलेका कारण शुक्रबारबाट नै त्यहाँका गाडी हटाउन सुरु भएको बताए ।

दुम्कीवासदेखि पश्चिम बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने सडकमा अझै ३ सय गाडी फसेको उनले सुनाए । त्यहाँ ३०, ४० वटा भारतीय ट्रक फसेका छन् । दाउन्ने सडक खाली नगराएसम्म टिपर बोकेका गाडी जान नसक्ने उनले सुनाए ।

दाउन्नेमा हिलोको दलदलबाट निकास दिन कम्तीमा ५ सय ट्रक ग्राभेल राख्न पर्ने सडकका इन्जिनियरले आफूलाई रिपोर्ट दिएको गिरीले बताए । आइतबारसम्म दाउन्नेमा अड्केका सबै गाडी हटाएर २, ३ दर्जन टिपरले ग्राभेल बोक्न थाल्ने प्रतिबद्धता ठेकेदारले गरेको गिरीले सुनाए । वर्षात् रोकिए दाउन्नेमा ग्राभेल राखेर ३, ४ दिनमा राजमार्ग एकतर्फी सुचारु गर्न सकिने आंकलन छ ।

दाउन्नेमा गाडीको चाप हुन नदिन त्यहाँ दुम्कीवास र बर्दघाटबाट दाउन्ने पहाडमा कुनै पनि गाडी जान नदिन प्रहरी खटिएको छ । मुग्लिन हुँदै नारायणगढ-कावासोती-दाउन्ने जाने गाडी प्रहरीले मुग्लिनबाट पोखरा पठाइरहेको एसपी ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर