• २०८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025

३० हजार पाउन्डका ६ वटा बमः इरानकाे आणविक परियोजना ध्वस्त भएको ट्रम्पले दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक परियोजना लक्षित हमला सफल भएको बताएका छन्।

गएराति इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित तीन वटा स्थानमा अमेरिकाले गरेको हमला सफल भएको ट्रम्पले बताएका हुन्।

इरान-इजराइल तनावको ९ दिनपछि अमेरिका पनि त्यसमा होमिएको हो। इरानको सबैभन्दा ठूलो परमाणु कार्यक्रम रहेको नतान्ज, फर्दो र इस्फहानमा स्थानीय समयअनुसार बिहान २:३० बजे अमेरिकाले बम खसालेको थियो। आक्रमणपछि ती परियोजना ध्वस्त भएको ट्रम्पले दाबी गरेका छन्।

फर्दोमा ठूलो पहाडको २६२ देखि २९५ फिट तल इरानको आणविक भट्टी रहेको बताइन्छ। त्यहाँको आणविक भट्टी ध्वस्त पार्न इजराइल आफैले नसकेपछि अमेरिकाको सहयोग मागेको थियो।

सुरूमा ट्रम्पले इरानसँग वार्तामार्फत नै आणविक हतियार कार्यक्रम रोक्ने सहमति गर्ने दाबी गरेपनि इरान त्यसमा सकारात्मक नदेखिएपछि उसले बम हानेको थियो।

पहाडको गहिराइमा भएको आणविक हतियार परियोजना नष्ट गर्न  अमेरिकाले जिबियू-५७ बंकरभेदी बम प्रयोग गरेको छ। ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको छ। उक्त बम बोकेर अमेरिकी सेनाको बि-२ बमवर्षक विमान मिसौरीबाट लगातार ३७ घन्टा यात्रा गरेर इरानी सहर कोमनजिक पुगेको थियो। त्यसमा पटकपटक आकाशमै इन्धन भरिएको थियो भनेर न्युयोर्क टाइम्सले जनाएको छ।

फर्दोमा कैयौं पटक बम खसालेपछि मात्रै उक्त आणविक भट्टी ध्वस्त हुन्छ भनिएको थियो। अमेरिकाले त्यहाँ ६ वटा जिबियू-५७ बंकरभेदी बम खसालेका कारण फर्दो ध्वस्त भएको आकलन गरिएको छ। त्यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

ट्रम्प आफैले भने फर्दोलगायत अमेरिकाले बम खसालेको आणविक हतियारसम्बन्धी तीन वटै क्षेत्रहरू ध्वस्त भएको बताएका छन्। उनले इरानमा त्यस्ता आणविक हतियारसम्बन्धी परियोजना अझै थुप्रै रहेको पनि बताएका छन्।

'परमाणु सुविधाहरू पूर्ण र पूर्ण रूपमा नष्ट भएका छन्,' उनले भने, 'आक्रमणको उद्देश्य इरानको परमाणु संवर्धन क्षमता नष्ट गर्नु र विश्वको नम्बर एक आतंकवाद प्रायोजक राष्ट्रबाट उत्पन्न परमाणु खतरा रोक्नु थियो।'

ट्रम्पले अब शान्तिको समय भएको पनि बताएका छन्। तर इरान त्यसतर्फ नलागे अझै सशक्त आक्रमण गर्ने पनि ट्रम्पले बताएका छन्।

अमेरिकाले इरानसँग २ महिनादेखि परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा सहमति गर्ने प्रयत्न गरिरहेको छ। त्यसका लागि उसले २ महिनाअगाडि नै इरानमा आक्रमण गर्ने इजराइलको योजना रोकेको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भने मध्यपूर्वको तनावमा अमेरिकाको संलग्नताबारे चिन्ता व्यक्त गरेका छन्।

'पहिल्यै तनावग्रस्त भएको क्षेत्रमा अमेरिकी हमलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न भएको छ,' गुटेरेसले भनेका छन् ।

इजराइलले भने इरानविरूद्धको हमलामा सहयोग गरेकामा अमेरिकालाई धन्यवाद दिएको छ।

अमेरिकाले इरानको फर्दो न्युक्लियर परियोजनामा ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको हाे ।

फर्दो ठूलो पहाडको २६२ देखि २९५ फिट तल रहेको आणविक भट्टी हो। यही भट्टी ध्वस्त बनाउन अमेरिकाले जिबियू ५७-बंकरभेदी बम खसालेको न्युयोर्क टाइम्सले जनाएको छ। यो बम बोकेको बि२-बमवर्षक विमान ३७ घन्टासम्म लगातार उडेर ‍फर्दो पुगेको थियो।    

यो बम खसालेपछि फर्दो काम नलाग्नेगरी ध्वस्त भएको हुन सक्ने आकलन गरिएको टाइम्सले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै फर्दो परियोजना ध्वस्त भएको संकेत गरेका छन्। तर यसबारे यकिन तथ्य आउन बाँकी छ।

त्यस्तै, अमेरिकाले अर्को दुई न्युक्लियर परियोजना नतान्ज र इस्फहानमा सबमरिन (पनडुब्बी) बाट ३० वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ।

टमाहक जमिनमा आक्रमण गर्ने शक्तिशाली अमेरिकी मिसाइल हुन्। यी मिसाइल समुद्रमा रहेका जहाज वा पानीमुनि रहने सबमरिनबाट पनि प्रहार गर्न सकिन्छ। १५०० किलोमिटर टाढासम्म प्रहार गर्न सकिने यी मिसाइल जमिनभन्दा केही माथि मात्र उड्ने हुनाले शत्रुपक्षको रडारले देख्न सक्दैन।

सुरुमा १९८० तिर अमेरिकाले विकास गरेका टमाहक मिसाइल पछिल्ला वर्षहरूमा थप आधुनिक र सशक्त बनाउँदै लगेको छ।

इजराइलले पछिल्ला दुई हप्तादेखि इरानमा जारी राखेको आक्रमणले उसको न्युक्लियर परियोजनामा खासै ठूलो क्षति पुर्‍याउन नसकेको आकलनपछि अमेरिकाले आफै आक्रमण गरेको हुनसक्ने टाइम्सले जनाएको छ।

राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा न्युक्लियर बम बनाउन नदिने बताउँदै आएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर