माधव नेपालको पक्षमा मुद्दा लड्न वरिष्ठ अधिवक्ताहरुको भिड

काठमाडौं । पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ ।
आज (बुधबार) विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ ।
तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । पूर्व प्रधानमन्त्री नेपालको तर्फबाट बहस गर्ने भनी ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेका हुुन् ।
बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् ।
वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् ।
यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् । वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् ।
सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउने छन् । बहसपछि थुनछेक आदेश हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस