साम्बाको ५ गाेल, नेपालले हान्यो ९ गोल

काठमाडौं । एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्रभावशाली जित निकालेको छ । आजदेखि उज्वेकिस्तानमा सुरु भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० गोलको ऐतिहासिक जित निकालेको हो ।
नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेलमा प्रभावशाली जित निकाल्ने क्रममा नेपालका लागि स्ट्राइकर साबित्री भण्डारी साम्बाले ५ गोल गरिन् ।
अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा ७ गोल थप्यो।
पहिलो हाफको १२ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको ४४ औँ मिनेटमा साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।
खेलको ४७ औँ मिनेटमा सरु लिम्बुको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो।
खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो।
५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो।
खेलको ७५ औँ मिनेटमा साम्बाले टोलीका लागि छैटौँ गोल गर्दा ह्याट्रिक पूरा गरिन्। लगत्तै एक मिनेटमा नै साम्बाले चौथो गोल गर्दा नेपालले ७–० को फराकिलो अग्रता बनाएको हो।
खेलको ८३ औँ मिनेटमा अनिता केसीको गोलमा नेपालले ८–० को अग्रता बनायो। ८८ औँ मिनेटमा साम्बाले व्यक्तीगत ५ गोल गर्दा नेपालले ९–० को फराकिलो जित दर्ता गर्यो ।
महिला फुटबलमा नेपाल र लाओस पहिलोपटक आमनेसामने भएका हुन्। फिफा वरियताका आधारमा लाओस नेपालभन्दा पछि छ। नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा रहने टिम मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ। पहिलो भए फिफा विश्वकप र ओलम्पिक छनोट खेलको पनि बाटो खुल्नेछ।
प्रतिकृया दिनुहोस