• २०८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025

कांग्रेस केन्द्रीय समिति बैठक शुरू, १३ प्रस्तावमा छलफल

काठमाडौँ। झण्डै ९ महिनापछि सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरू भएकाे छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक डेढ घण्टा ढिला गरी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको हो । 

बैठकमा छलफलका लागि १३ ओटा प्रस्तावहरू गरिएको छ । महामन्त्री गगनकुमार थापाले १०० दिने अभियानका प्रतिवेदनहरु, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत लगायतका प्रस्ताव छन् । 

पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका महत्त्वपूर्ण विषयमा छलफल गर्नका लागि यो बैठक बोलाइएको हो। आइतबारै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गरेको थियो । 

त्यस्तै अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धी पनि बैठकका एजेन्डा हुनेछन् । 

त्यस्तै नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निष्टा) को नाम संशोधन सम्बन्धी पनि प्रस्ताव रहेको छ । 

साथै बैठकमा कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा, संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (मन्त्रीहरुको प्रतिवेदनसहित छलफल), समसामयिक विषय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत) र विविध विषयमा छलफल हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर