• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

सिटीलाई झड्का, साउदी अल हिलालले ठाेक्याे ४ गाेल

काठमाडौं । प्रिमियर लिगकाे पावरहाउस म्यानचेस्टर सिटीले ठूलाे झड्का बेहाेरेकाे छ। ७ गोलको रोमाञ्चक खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार विहान भएको खेलमा अल हिलालले सिटीलाई अतिरिक्त समयमा ४-३ गोलअन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सिटीको यात्रा अन्तिम १६ मै समाप्त भएको छ ।

सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो भने २ पटक बराबरीसम्म आएपनि त्यसपछि अग्रता बनाउन सकेन । खेलको नवौं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४६औं मिनेटमा मार्कस लियोनार्डोले गोल गर्दै हिलाललाई खेलमा फर्काए । त्यसको ६ मिनेटपछि ५२औं मिनेटमा मालकोमले गोल गरेपछि हिलालले खेलमा अग्रता लिएको थियो ।

५५औं मिनेटमा सिटीका लागि एर्लिङ हालान्डले बराबरी गोल गरे । त्यसपछि ९० मिनेट र इन्जुरी समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९३औं मिनेटमा कालिदोउ कुलिबाइले गोल गर्दै हिलाललाई फेरि अग्रता दिलाए तर १०४औं मिनेटमा फिल फोडेनले गोल गर्दा खेल फेरि बराबरीमा आयो ।

११२औं मिनेटमा लियोनार्डोले व्यक्तिगत दोस्रो गोल गरे जुन् खेलकै निर्णायक गोल साबित भयो । एसियन टोली अल हिलालले युरोपियन जायन्टलाई हराएर अन्तिम ८ मा स्थान बनायो ।

अल हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेससँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर