नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढ्न लागेकाे हाे ? साक्षीसँग बकपत्र गराउन आदेश

काठमाडाैं । सामसुम पार्ना खेजिएकाे नक्कली भुटानी शरणार्थी प्रकरण फेरि अघि बढ्ने देखिएकाे छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको मुद्दामा जिल्ला अदालत काठमाडौंले साक्षीसँग बकपत्र गराउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले मुद्दाका साक्षी बुझ्ने आदेश मंगलबार जारी गरेको हो । साक्षीसँग बकपत्रपछि मुद्दालाई निरन्तर सुनुवाइमा लैजाने अदालतको तयारी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई तीव्रता दिन लागेको हो । यस मुद्दामा थुनछेक आदेश भएयता ३२ पटक पेसी चढेकामा गत १ वैशाखयता मात्रै २२ पटक पेसी तोकिएको छ ।
त्यसअघि २०८१ मा ६ र २०८० मा ४ पटक पेसी तोकिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार आगामी साताका लागि अर्को पेसी पनि तोकिइसकेको छ ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य तथा कांग्रेस नेता आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ अधिकारी तथा बिचौलियाविरुद्ध दुई वर्षअघि मुद्दा दायर गरिएको थियो । गजेन्द्र बुढाथोकीको जाहेरीका आधारमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा चलाइएको हो । ९ वैशाख २०८१ मा दावाफुरी शेर्पाले दिएको जाहेरीबमोजिम सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदाका स्वकीय सचिव केशव दुलालसहित ५ जनाविरुद्ध पूरक मुद्दा दायर गरिएको थियो । शरणार्थी प्रकरणकै संदिग्ध पात्र बेचन झालाई भारतबाट पक्राउ गरी ल्याएर २९ साउन २०८१ मा अर्को मुद्दा लगिएको थियो । अदालतले पछिल्ला दुई वटै मुद्दालाई मूल मुद्दासँगै लगाउमा राखेर सुनुवाइ अघि बढाएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १ असार २०८० मा रायमाझी, खाण, पूर्वसचिव पाण्डे, राईका साथै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । रायमाझी अहिले पनि थुनामा छन् भने खाँड थुनामुक्त छन् ।
प्रतिकृया दिनुहोस