लोसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन !

बुटवल । सत्तारूढ दल लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपाले लुम्बिनी प्रदेश सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे छ । 

सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल गर्न असार ७ गते प्रदेशसभाको बैठक आह्वान भएको थियो।

बजेटप्रति प्रदेशसभाका सांसद मात्र होइन स्वयं मुख्यमन्त्री र मन्त्रीहरूमा समेत असन्तुष्टि देखिएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गर्‍यो। बैठक स्थगित गर्न मुख्यमन्त्री चेतनारायण आचार्यले आग्रह गरेका थिए।

बैठक स्थगित गरेर मुख्यमन्त्री र मन्त्रीहरूले सत्तापक्ष र प्रतिपक्ष दलका नेता र सांसदहरूसँग बजेटका विषयमा छलफल गरे। छलफलपछि सरकारकै आग्रहमा प्रदेशसभा सचिवालयले मंगलबार अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गर्‍यो।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक र आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलका लागि पेस गर्ने कार्यसूची थियो।

अपराह्न ३ बजे बैठक सुरू हुनासाथ प्रतिपक्ष दलहरू; नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र राष्ट्रिय जनमोर्चाले सरकारले ल्याएको बजेटमा बेथिति भएकाले संशोधन गर्न माग गर्दै बैठक अवरोध गरे। प्रतिपक्षी दलहरूको अवरोधपछि सभामुख तुलाराम घर्ती मगरले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।

आधा घण्टाका लागि स्थगित गरिएको बैठक प्रतिपक्षी दलहरू सहमतिमा नआएपछि राति साढे ८ बजे मात्रै बसेको थियो। राति साढे आठ बजे बसेको १५ औं बैठकमा प्रतिपक्षी दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र राष्ट्रिय जनमोर्चाका कुनै पनि सांसद उपस्थित भएनन्।

प्रतिपक्षी दलका सांसदहरूका कुर्सी खाली भएपछि १४ औं बैठकसम्म सत्तापक्षमा बसेका लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूलाई १५ औं बैठकमा भने प्रतिपक्षका कुर्सीमा राखेर बैठक अगाडि बढ्यो।

दिउँसोसम्म सरकारलाई समर्थन गरेको लोसपाले राती साढे आठ बजे एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै बैठक अगाडि बढाउन सघाएको हो।

लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएपछि सभामुख घर्तीले बैठक सुचारू गरेका थिए। जसपा नेपालले भने यसअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रदेशसभाका सचिव दुर्लवकुमार पुनले मंगलबार बसेको १५ औं बैठकमा लोसपाका ३ जना र जसपा नेपालका १ जना गरी ४ जना सांसद प्रतिपक्षमा बसेपछि बैठक सञ्चालन भएको बताए।

प्रदेशसभामा लोसपाबाट सन्तोषकुमार पाण्डेय, हेमा बेलबासे र कनैया बानियाँ सांसद छन्। जसपा नेपालबाट अम्बिका काफ्ले प्रदेश सांसद छिन्।

लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सरकारले आफ्ना माग सम्बोधन नगरेको र बजेटमा पनि बेवास्ता गरेकाले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको बताए।

प्रतिपक्षी दलहरूको बहिस्कार पछि अगाडि बढ्न नसकेको बैठक सुरू गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाटक गर्नुभएको हो भन्ने प्रश्नमा पाण्डेयले बजेट बाँडफाँडमा सरकार र मन्त्रीहरुले पनि ध्यान नदिएको र सरकाले समावेशी तथा समानुपातिक रूपले बजेट नल्याएकोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।

प्रतिपक्षी दलहरूको बहिस्कारबीच सुरू भएको मंगलबारको बैठकबाट आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ।

सघीय सरकारमा भने लाेसपाका तर्फबाट शरदसिंह भण्डारी श्रम तथा राेजगारमन्त्री छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर