• २०८२ असार १९ बिहीबार
  • Thursday, 3 July, 2025

श्रीलंकाविरुद्ध पनि साम्बाको ह्याट्रिकः नेपालले हान्यो ८ गोल

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा नेपाली स्टार फरवार्ड साबित्रा भण्डारी साम्बाले अर्काे ह्याट्रिक हानेकी छन् ।

बुधबारकाे खेलमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता  गर्न सफल भएकाे छ। समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। 

नेपालको जितमा कप्तान साम्बाले ह्याट्रिक, डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरे। 

पहिलो हाफमा ४-० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको छ। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो।  खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३-० को अग्रता बनायो। 

पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यो सँगै नेपालले खेलमा ४-० को अग्रता बनाएको थियो। 

खेलको ५४ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई ५-० को फराकिलो अग्रता दिलाइन्। श्रीलंकाका डिफेन्डरले रश्मी कुमारी घिसिङलाई लडाएपछि रेफ्रिले पेनाल्टीको इसारा दिएकी थिइन्। 

खेलको ६२ ओँ मिनेटमा निशा थोकरको गोलमा नेपालले ६-० को फराकिलो अग्रता बनायाे ।  ७८ औँ मिनेटमा रेखा पौडेलको हेडर गोलमा नेपालले ७-० को अग्रता बनायो।  

खेलको ८९ औँ मिनेटमा पूजा रानाको गोलमा नेपाल ८-० को फराकिलो अवस्थामा पुग्यो। आज पूजा र रेखा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। 

समूह चरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो। श्रीलंकाले भने च्याम्पियनसिपमा लगातार दोस्रो हार व्यहोरेको हो। श्रीलंकाले पहिलो खेलमा उज्वेकिस्तानसँग १०-० को फराकिलो हार व्यहोरेको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले २१ गते घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ। जुन खेल नेपालका लागि तुलनात्मक रूपमा कठिन हुनेछ । उज्वेकिस्तान नेपालभन्दा बलियाे टिम हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर