'कागजी' स्कुलका नाममा योजना पारेर भ्रष्टाचार गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । डोल्पाको दुनैस्थित 'काल्पनिक' दुर्गा प्राथमिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार दुर्गा प्रा.वि. नामक विद्यालय कुनै पनि बेला सञ्चालनमा नरहेको पुष्टि भएको अवस्थामा समेत त्यसै नाममा २ कोठे भवन निर्माणको योजना बनाएर रकम निकासा गरिएको थियो ।

आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट आएको भनिएको रकम विद्यालय भवन निर्माणमा खर्च गरिएको नक्कली विवरण तयार पारिएको पाइएको हो ।

मुद्दामा जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुलसहितको सजाय माग गर्दै आयोगले मुद्दा दायर गरेको हो । चारै जना प्रतिवादीहरूमाथि समानरूपमा रु. ७ लाख ६० हजारको बिगो माग गरिएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर