स्थानीयले तस्करलाई सघाए, ६ सशस्त्र प्रहरी घाइते

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीमा बिहीबार राति तस्करसँग भिडन्त हुँदा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एसपी निर्मल खड्काले तस्करीको समान नियन्त्रणमा लिन एउटा घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेको जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।
स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनु परेको सुनाए । सशस्त्र प्रहरी र तस्करबीच भएको भिडन्तबारे नेपाल प्रहरी भने अनभिज्ञ छन् । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने, ‘तस्करसंग सामान्य विवाद भएको छ । त्यस विषयमा सशस्त्रलाई नै सोध्नुस् न ।’
दुहबी भारतीय सीमा क्षेत्र (दशगजा) मै टाँसिएको छ । यहाँका अधिकतर व्यक्ति तस्करीमा संलग्न छन् । यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक–पटक आक्रमण भएको छ ।
प्रतिकृया दिनुहोस