सीके राउतले आफ्नै दाईलाई बनाए उपाध्यक्ष, पार्टी भित्र चर्को असन्तुष्टी

काठमाडौं । नयाँ, सुसस्कृत र परम्परावादी दलभन्दा पृथक भनिएपनि नयाँ उदाएका दलहरुमा पुरानै दलको रोग सरेको देखिएको छ । त्यसको सिकार बनेको छ सीके राउत नेतृत्वको जनमत पार्टी ।
पढेलेखेका, देश मात्रै हैन विदेश पनि बुझेका भिजनसहितका नेता भनेर राउतको ब्याख्या हुने गरेको थियो । तर उनको पार्टी संचारको शैली, विरोधीहरुलाई ठेगान लगाउने तरिका तथा आफन्त र चाकडीवाजहरुलाई काखी च्याप्ने शैली उनको पनि पुरानै दलको भन्दा फरक छैन ।
उनको आलोचना गर्ने कोशाध्यक्ष र उपाध्यक्षलाई कारबाही गर्नु र उपाध्यक्षमा आफ्नै दाई डा.जेके राउतलाई नियुक्त गर्नुले उनको शैली उजागर गरेको छ ।
राउतले मंगलबार मात्रै पार्टी उपाध्यक्षमा दाजुलाई नियुक्त गरेको सोही पार्टीका एक नेताले समाचार दैनिकलाई बताए ।
पार्टीकै नेता दीपक कुमार साहले पार्टीको यो निर्णयलाई ‘पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्ति’ भनेका छन्। यसले पार्टीलाई नै गम्भीर क्षति पुर्याउने साहको जिकिर छ।
‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयबाट सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रष्ट भएको छ,’ साहले भनेका छन्, ‘विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्षर सङ्गठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो। यसले सङ्गठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ।'
पार्टी स्थापनार्थ सङ्घर्ष र योगदान गर्नेहरूलाई भुलेर ‘परिवारवाद’लाई संस्थागत गर्ने काम भइरहेको आरोप साहको छ। ‘१४ वर्ष लामो सङ्घर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले सङ्गठन विभाग प्रमुखजस्तो महत्त्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन-तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ,’ साहले भनेका छन्।
जयकान्तले उपाध्यक्षसँगसँगै सङ्गठन विभाग प्रमुख र सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पनि पाएका छन्। पार्टी निर्माणमा डेढ दशकसम्म योगदान गर्नेहरूलाई बेवास्ता गरेर पारिवारिक सदस्यहरूलाई यसरी अवसर दिँदा पार्टीलाई गम्भीर क्षति हुने साहले बताएका छन्।
त्यसो त जनमतभित्र यस्ता अन्य धेरै विवादहरू छन्। अध्यक्ष राउतले मोटो रकम लिएर समानुपातिक सांसद बनाएको, सांसद गोमा लाभ सापकोटा निलम्बन गर्न खोजेको, कुनै ठूलो कारण बिना पार्टीका नेताहरूलाई कारबाही गरेको, मुद्दा लगाएको, पार्टीको निर्णयविपरीत घर-जग्गा जोडेकोलगायतका विवादहरू अहिले पनि छँदैछन्।
जनमतमा यतिबेला काेषाध्यक्ष पद पनि खाली छ । यस अघि राउतले दाजु जेकेलाइ काेषाध्यक्ष बनाउन लागेकाे चर्चा पनि थियाे । अहिले उपाध्यक्ष बनाएपनि पार्टीकाे काेष हेर्ने काम भने उनै जेकेले गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस