प्रहरी एसपीलाई मुख छाड्दै धम्की दिने जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम । नेपाल प्रहरीका एसपीलाइ मुख छाड्दै धम्की दिने जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।  

आपराधिक उपद्रवकाे कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीकाे तयारी छ।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ। सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। एसपी खड्कालाई लुट्न तराईमा आएको भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ। 

यादवले यसअघि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेज पनि प्रहरीले अबको कारबाहीका लागि प्रमाणका रुपमा लिने जनाएको छ। 

‘उहाँ सधैँ लफडा गर्ने मान्छे हो। अहिले पनि फेरि प्रहरीलाई गाली गर्नु भएछ’, मधेस प्रदेशका प्रहरी अधिकारीले भने, ‘प्रहरीले सुरक्षा दिँदा उहाँलाई के समस्या भयो हामीले बुझेको छैन। जिल्ला प्रशासन कार्यालयबाट आदेश आएपछि सुरक्षा दिनु हाम्रो कर्तव्य हो।’

प्रहरीले यादवले यसअघि धम्क्याएका अरुसँगको प्रमाण पनि संकलन गरिरहेको र यस विषयमा पनि टिप्पणी उठाएर कारबाही गर्ने तयारी गरेको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सर्लाही घटनाबारे आवश्यक कानुनी कारबाही अघि बढाउन मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए।

नेपाल प्रहरीको मधेस प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले यसमा कानुनी प्रक्रिया अघि बढिसकेको बताए। ‘यो घटना के-कसरी भएको हो गम्भीरतापूर्वक हेर्न भनिएको छ,’ उनले भने।

यसैबिच पूर्वाधार कार्यालय मलंगवामा राति साढे आठ बजेतिर प्रहरीको निगरानीमा भुक्तानीको लागि चेक काटेको विषयमा विवाद चर्किएको थियो। दुवै जनाले एकअर्कालाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। सो पश्चात् यादवलाई नियन्त्रणमा लिन खोजेपछि डिएसपीको गाडी तोडफोड गरिएको हो।

एसपी खड्कासँग गालीगलौज भएपछि प्रहरीको टोली नेता यादवको गाउँ पुगेर पक्राउ गर्न खोजेको थियो। प्रहरीको टोलीले नेता यादवको घरमा छापा मारेर पक्राउ गर्न खोजेपछि स्थानीय व्यक्तिलाई प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले स्थानीयको ढुंगामुढामा जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको बताएका छन्। प्रहरीले यादवको खोजी गरिरहेको जनाएको छ।

पूर्व प्रदेश सांसदसमेत रहेका जसपा प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई कमीसन खान आएको आरोप लगाएपछि विवाद चर्किएको अडियो नै सार्वजनिक भएको छ। राति प्रहरी पठाएर कमीसन लिने गरेको आरोप एसपी खड्कामाथि नेता यादवले लगाएपछि चर्किएको विवादले उग्र रूप लिएको थियो। एसपी खड्काले त्यहाँबाट फोन आएपछि प्रहरी पठाइएको बताइरहँदा पनि नेता यादवले एसपी खड्कामाथि मधेशमा लुट्न आएको र कमीसन लिन आएको आरोप लगाइरहेको अडियोमा सुन्न सकिन्छ।

पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादव चन्द्रपुरमा डेरा लिएर बस्ने गरेको तथा दिउँसो कार्यालय नआउने र राति आएर कमीसन दिनका लागि चेक काट्ने र अन्यलाई खाता खोल्नमै समस्या बनाउने गरेको आरोप जसपा नेता अशोक यादवको रहेको छ।

बाहिर प्रहरी राखेर कार्यालयको ढोका भित्रबाट बन्द गरी राति मात्र चेक काट्ने गरेको आरोप पूर्वाधार कार्यालयमाथि छ। पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादवले असार मसान्त आउन लागेकाले दिनभर र रातभर काम गरेर भए पनि फाइल हेरेर काम गर्नु परिरहेको बताएका छन्। दिउँसो कार्यालयमा नआउने र राति प्रहरीको निगरानीमा सर्वसाधारणको पहुँच नहुने अवस्था निर्माण गरेर चेक काट्ने काम गरिरहेको आरोपकै विषयमा विवाद भएको हो।

मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवासको कार्यक्रम अगर्वा र सलेमपुर गाउँमा निर्माण गरिएको र भइरहेको घरको भुक्तानीको विषयमा विवाद चर्किएको हो। कार्यक्रममा निकै भ्रष्टाचार भइरहेको आरोप नेता यादवको रहेको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर