• २०८२ असार २१ शनिबार
  • Saturday, 5 July, 2025

नयाँ इतिहासकाे संघारमा नेपाली मिहला टिमः उज्वेकिस्तानकाे सामना गर्दै

काठमाडाैं । लामाे समयदेखि उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि चुम्न नपाएकाे नेपाली महिला फुटबल टोली अर्को इतिहास नजिक पुगेकाे छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ।

उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। 

अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नका लागि नेपाल र उज्वेकिस्तान दुवै टोली जित्नै पर्ने दबाबमा छन्। समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि फाइनल सरह रहेको छ। 

एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ। जारी प्रतियाेगितामा पनि उच्च स्तरकाे प्रदर्शन गरेकाे नेपाली टिमले पाएका प्रतिस्पर्धि भन्दा उज्वेकिस्तान तुलनात्मक रूपमा सबल टिम हाे ।

उज्वेकिस्तानमा भइरहेको एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले लगातार दुई खेलमा जित निकालेको छ।

पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको नेपालले बुधबार श्रीलंकामाथि ८-० गोलको जित निकाल्यो। दुवै खेलमा गरी फरवार्ड सावित्रा भण्डारी साम्बाले सात गोल गरिसकेकी छिन्। यहि छनोटमा पहिलो पटक नेपालको कप्तानी गरेकी साम्बाले लाओसविरूद्ध चार गोल र श्रीलंकाविरूद्ध तीन गोल गरेकी थिइन्।

समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकलेको छ। उसले पहिलो खेलमा श्रीलंकालाई १०-० गोलले हराउँदा बुधबार लाओसलाई ७-० गोलले हरायो। 

यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६-६ अंक जोडेका छन्। दुवैले १७-१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन्।

दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ। त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ। किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन्।  

अन्तिम अवस्थामा सधै अभागी हुने गरेको नेपालका लागि अन्तिम चुनौती बाँकी रहेको कप्तान साम्बा बताउँछिन्। अहिले टोलीको कम्बिनेसन मिलेको र अन्तिम चुनौतीसँग लड्न नेपाली टोली तयार रहेको कप्तान साम्बाको भनाइ छ। 

फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो। उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा छ।

हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ। उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो। नेपालविरूद्ध उज्वेकिस्तानले ११ गोल गरेको छ। नेपालले भने ३ गोल मात्र गर्न सकेको छ। 

सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबीच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। सो कपमा नेपाल र उज्वेकिस्तान दुई पटक भिडेका थिए। समूह चरण नेपालले २-० को हार बेहोर्दा फाइनलमा पनि ३-२ गोलले पराजित भएको थियो। 

यसपटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो। उसले ५ पटक एसियन कप खेलिसकेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर