रसुवा बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौँ । रसुवामा आएको बाढीले झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्याएको प्रवक्तासमेत रहेका निर्देशक राजन ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालका अनुसार बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३'ए' र त्रिशूली ३'बी' मा क्षति पुगेको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको प्रवक्ता ढकालले बताए । 'चिलिमेको टेलरेसमा पानी छिरेको छ । दुई तीन दिनमा सफा होला । त्यस्तै त्रिशूली ३ 'ए' को तीन वटा हेडवर्क्स बगाएको छ,' उनले भने ।
त्यस्तै त्रिशूली ३ 'बी' को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ । चिलिमे २२ मेगावाट, त्रिशूली ३ 'ए' ६० र त्रिशूली ३ बी ३७ मेगावाटका परियोजना हुन् ।
मंगलबार तिब्बत हुँदै रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगिसकेको छ भने भन्सार यार्डमा राखिएका गाडीहरू पनि बगेका छन् ।
त्यस्तै बाढीमा परी १८ जना सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ६ चिनियाँ नागरिक र भन्सार यार्डमा कार्यरत ९ जना नेपाली रहेका छन् ।
प्रतिकृया दिनुहोस