यी हुन् रसुवा बाढीमा बेपत्ता भएका १८ जना

काठमाडाैं । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलाको बाढीमा परी बेपत्ता हुनेहरूको विवरण सार्वजनिक भएको छ। तीन प्रहरी, ६ चिनियाँसहित सम्पर्कविहीन रहेका १८ जनाको विवरण सुरक्षा निकायले सार्वजनिक गरेको हो।
सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछाप लिखु तामाकोशी– ४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा दरबन्दी भई टिमुरेमा कार्यरत बारा फेटा– १ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ दरबन्दी भई टिमुरेमै कार्यरत प्रहरी जवान बझाङ बुंगल– ९ का २३ वर्षीय लोकेन्द्र बोहोरा रहेका छन्।
त्यसैगरी, बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू, ३० वर्षीय सुरेश थारू बेपत्ता छन्। उमेर नखुलेका बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनरचालक फुर्वा लामा, ठेगाना नखुलेका मिक्सचरचालक गोविन्द मोक्तान र हाइलक्सचालक लोकमान तामाङ पनि सम्पर्कविहीन छन्।
उमेर नखुलेका चिनियाँ नागरिकहरु YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG बेपत्ता छन्।
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।
नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बाढी हाल घट्दो क्रममा रहेको भएतापनि संभावित जोखिमलाई ध्यानमा राखि त्रिशुली नदीको रसुवागढी देखि धादिङ जिल्लाको वेनिघाट आसपाससम्म त्रिशुली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।
प्रतिकृया दिनुहोस