दिनभर यी स्थानमा बाढीकाे सम्भावना, विभागद्वारा सतर्कता अपनाउन सूचना

काठमाडौँ । पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
नवलपरासी, मकवानपुर, बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको विभागले जनाएको छ।
विभागका अनुसार बिहान ४:१५ बजेकाे मापन अनुसार पछिल्लो ३ घण्टामा नवलपरासी स्थित बर्दघाट, परासी, देउराली नवल र आसपास भारी बर्षा मापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेकोले, सो क्षेत्र भइ बहने गण्डक नहर, बिनाई खोला, अरुङ्ग खोला र अन्य साना नदीमा बाढीको जोखिम रहेको छ ।
असार २५ गते, बिहान १:१० बजेकाे मापन अनुसार मकवानपुर जिल्ला स्थित लाल बकैया खोला को जुरेलीबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले लालबकैया खोला लगायत स-साना खोलाको आसपासका क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानै सम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न विभागले अनुराेध गरेकाे छ ।
मंगलबार राति ११ः३० बजे बागलुङ जिल्लास्थित गलकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ। सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकोले, कमजोर र भिरालो जमिनमा पहिरोको जोखिमसमेत देखिएको विभागले जनाएको छ। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैगरी, मकवानपुर जिल्लास्थित लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ। मंगलबार राति ११ः०० बजे जारी सूचना अनुसार लालबकैया खोलासहित आसपासका साना खोलाका किनार क्षेत्रहरूमा बाढीको जोखिम रहेकाले बुधबार बिहानसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
त्यस्तै, सर्लाही जिल्लाको पत्थरकोट र परवानीपुर वर्षा मापन केन्द्रमा पनि पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको छ। थप वर्षा हुने सम्भावनासहित ती क्षेत्रमा बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेकाले होचा भूभागमा डुबानको सम्भावना रहेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले ती सबै क्षेत्रका स्थानीयवासी, विशेष गरी खोलानाला आसपास तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न पुनः आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस