• २०८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025

राजावादीहरु भित्र भाँडभैलोः लिङदेन विरुद्ध सुवेदी अदालत जाने

काठमाडौं । आपसी अन्तरकलहका कारण राजा फर्काउन भनेर थालिएको आन्दोलन अस्तव्यस्त भएपछि राजावादीहरु आपसमा भिडन्तमा उत्रिएका छन् । राजावादी आन्दोलनको एक ठूलो हिस्सा रहेको राप्रपामा अहिले अन्तरकलह चुलिएको छ । आन्दोलनको संयोजक बनेका नवराज सुवेदी आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध अदालत जाने भएका छन् । 

लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् । 

उनकै नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आए पनि लिङ्देनले एकाएक सुवेदीलाई हटाएको भन्दै असन्तुष्टि बढेको हो । लिङ्देनको यस कार्यले राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि नै प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ । 

राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको एक नेताले रातोपाटीलाई जानकारी दिए । 

लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएको विज्ञप्तिमार्फत जनाएका थिए । यस्तै लिङ्देनले प्रवक्ता सगुन लावतीलाई पनि हटाएका थिए ।  शनिबारको बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई धमाधम पदबाट विधान विपरीत हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए । विगतमा लिङ्देनले इतर समूहका धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । 

महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा भएको शनिबारको भेला करिब ४ घण्टा चलेको थियो । बिहान ९ देखि १ बजेसम्म चलेको भेलामा पार्टी निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहित नेताहरू हरिबहादुर बस्नेत, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, धवलशमशेर राणा, कुन्तीकुमारी शाही, सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही ,कर्णबहादुर शाही, किशोर कार्की, निरञ्जन थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर