• २०८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025

अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्यामा ६० प्रतिशतसम्म गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा अध्यागमन नीतिको प्रभाव अमेरिकाको भिजितर भिसामा व्यापक देखिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे महिनामा जम्मा ९०८ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो चालु आर्थिक बर्षका कुनै पनि महिनाको तुलनामा कम हो । चालु आर्थिक बर्षका विगतका महिनाहरुसँग तुलना गर्दा यो गिरावट ३० देखि ६० प्रतिशतसम्म रहेको छ ।

अप्रिलमा १३०७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए भने यो संख्या मार्चमा १५५० रहेको थियो । फेब्रुअरीमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या १८३८ रहेको थियो । जनवरीमा २१५० र डिसेम्बरमा ११९० थियो भने नोभेम्बरमा १६३२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा १६६९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

बाइडेनकालको पछिल्लो आर्थिक बर्ष २०२४ मा पनि नेपालीलाई अमेरिकाको भिजिटर भिसा अस्वीकृत दरमा उच्च बृद्धि भएको थियो । आर्थिक बर्ष २०२४ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ५० दशमलव ५ प्रतिशतलेमात्र अमेरिकाको भिजिटर भिसा पाएका थिए । बाइडेन प्रशासनको सुरुको ३ बर्षमा नेपालीको भिसा स्वीकृत दर अत्यन्तै उच्च भएपनि अन्तिम बर्षमा भने भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको थियो । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये झण्डै ४९ दशमलव ५ प्रतिशतको भिजिटर भिसा अस्वीकृत गरिएको थियो ।

भिसा अस्वीकृत दर आर्थिक बर्ष २०२३ को तुलनामा २०२४ मा अत्यन्तै उच्च थियो । २०२४ मा २४ हजार ३ सय ९ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । अर्थात् ४८ हजार १ सय नेपालीले आर्थिक बर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । २०२३ मा भिजिटर भिसाका नेपाली आवेदकमध्ये जम्मा ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको थियो । आर्थिक बर्ष २०२३ मा २९ हजार ७ सय २२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय ४५ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् । २०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर