• २०८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025

एमालेका मन्त्रीलाई घुसको ट्रयापमा फसाउन 'बिचौलिया'लाई रास्वपाको ‘धन्यवाद’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (ले) 'बिचौलिया' भनिएका सुजन लामालाई धन्यवाद भनेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडिओ सार्वजनिक गरेको भन्दै रास्वपाले लामालाई धन्यवाद भनेको हो।

'त्यो पोखरा १६को अमरदीपमा रहेको १३५ रोपनी जग्गा सरकारलाई नै फिर्ता गर्दै यो काण्डमा संलग्न नेताहरूलाई सरकारी साक्षी बनाएर सुजन लामालाई चाहिँ मुद्दा चलाउने हो कि ? यो अडियो सार्वजनिक गरेकोमा सुजन लामालाई चाहिँ धन्यवाद,' रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्।

अगाडि उनी भन्छन्, 'घुस अडियो काण्डका बिचौलिया सुजन लामा नभएका भए, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रन्जिता श्रेष्ठहरूलाई आरोप लाग्ने नै थिएन नि। खासमा यो घुस काण्डमा एमाले सरकारले बिचौलिया सुजन लामालाई सबै दोष दिँदा हुन्छ। उनैले यो अडियो सार्वजनिक गरे जस्तो छ। फोन कल रेकर्ड गर्नेलाई कारबाही लाग्छ नि होइन त सरकार ?'

मन्त्री गुप्तासँग घुस ‘डिल’ गरेको भनिएका लामा पोखराका हुन्। जग्गा कारोबारसँग सम्बन्धित काम गर्ने लामाले पोखरा लामाचौरमा रहेको लिची गार्डेन बेच्नका लागि मालपोत र भूमि आयोगमा आफ्नो 'फेबर'को मान्छे ल्याउनका लागि मन्त्रीसँग घुसको 'डिल' गरेको बताइन्छ।

लामाले सार्वजनिक गरेको भनिएको अडिओकै कारणले मन्त्री गुप्ताले राजीनामा बुझाइसकेका छन् भने मन्त्री अधिकारीको तीव्र आलोचना भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर