छाउगोठ बनाउने र बस्न लगाउनेको सरकारी सुविधा कटौती हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।
“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ,” मन्त्री लेखकले भने – “ यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ ।
“ महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु,” लेखकले भने– “अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”
सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रतिकृया दिनुहोस