विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण नगर्ने ओलीकाे चेतावनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेका छन्।
उनले राष्ट्रपतिजस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्कने विषय नैतिक र प्रणालीगत रूपमा जटिल भएको समेत औंल्याए।
वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किएकोबारे सोधिएको प्रश्नमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन,” अध्यक्ष ओलीले भने, “एक त उहाँ पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ। दोस्रो, पार्टीले त्यो ठानेको, मानेको नै अवस्था छैन।’
राष्ट्रपति पदको गरिमा र भूमिकाबारे विस्तृत व्याख्या गर्दै उनले राष्ट्रपति राष्ट्रको साझा र सम्मानित अभिभावक भएको सुनाए। ‘राष्ट्रपति भनेको सिङ्गो देशको, सिङ्गै राज्यका सबै अंगहरूको प्रमुख हो,’ उनले भने, ‘राष्ट्रपति हुनभन्दा अगाडि उहाँले पार्टी परित्याग गरेको हुनुपर्छ। पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्ट्रप्रमुखको भूमिकामा अभिभावकत्व दिन्छु भन्ने भावका साथ जाने हो।’
उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवले मर्यादित थिति बसालेको र विद्यादेवी भण्डारीले पनि आफ्नो कार्यकालमा सोही निष्पक्ष भूमिका निर्वाह गरेको सुनाए।
तर, एकपटक राष्ट्रको सर्वमान्य नेता भइसकेको व्यक्ति पुनः एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा त्यसले प्रणाली र समाजमा पार्ने असरबारे गम्भीर विमर्श हुनुपर्ने उनको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति नियोजित हो कि भन्ने प्रश्नमा अध्यक्ष ओलीले यसलाई अस्वीकार गरे। उनले भने, ‘यस्तो खालको हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ।’
उनले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कनेबारे पार्टीमा कुनै आधिकारिक प्रस्ताव नआएको र आफूसँग पनि कुनै सरसल्लाह नभएको स्पष्ट पारे।
यद्यपि, उनले यो विषयमा पार्टीले उपयुक्त समयमा छलफल गरेर निर्णय लिने बताए। ‘उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ,’ ओलीले भने, “तर धेरै ढिलो त गर्दैनौँ।’
प्रतिकृया दिनुहोस