• २०८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025

सत्ता पल्टाउने अभियानमा शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी महानमन्त्री गगन थापाको सहयोगबिना नै सरकार फेरबदल गर्ने कसरतमा गरेका छन्। नेता कोइरालाल कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्ने गरी सत्ता ढाल्ने खेलमा अघि बढेका हुन्। तर थापा पक्षका केन्दीय सदस्य कोइरालाको सत्ता पल्टाउने दौडधुप अर्थहीन रहेको बताउँछन्।

कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भन्दै खुमलटारदेखि भंगालसम्म पुगेर प्रयास गरेका कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आइतबार बिहान बानेश्वर र दिउँसो याक एन्ड यती होटेलमा सांसदसँग छलफल गरे। याक एन्ड यती भेलाबाट बाहिरिँदै गरेका सांसद राजेन्द्र बजागाईंले कोइराला सरकार परिवर्तन गर्नेतर्फ नगलागेको बताए।

पार्टी संसदीय दलको नेता फेर्ने सन्दर्भ भने बाँकी नै रहेको कोइराला पक्षीय सांसदले बताएका छन्। कोइरालाले आफूनिकट सांसदसँग परामर्श गरेका हुन्। तर कोइरालाले परामर्श गरिरहेका बेला महामन्त्री थापा भने साथीहरूसँग बसेर जन्मदिन मनाइरहेका थिए। बिहान कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित आठ सांसदसँग छलफल गरेका कोइरालाले दिउँसो याक एन्ड यतीमा थप छलफल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको कुरा कोइरालाले सांसदसँग बताएका थिए। ओली नेतृत्वको सरकारमा कोइराला पक्षका ४ मन्त्री छन्। कोइराला–थापा समूह एक ठाउँमा उभिए कांग्रेसका कम्तीमा ३१ सांसद पुग्ने संसदीय दलको निर्वाचन परिणामले पनि देखाएको थियो। तर कोइराला समूहले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेका छन्। उनीहरू ५० सांसद आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्।

संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउन सहज नभए पनि कोइरालाले आफू नेतृत्व परिवर्तन गर्नका लागि तयार रहेको संकेत गरेको भेलामा सहभागी एक सांसदले बताए। संसदीय दलको नेता हुन कोइरालाले पक्षमा ४५ सांसद बनाउनुपर्छ। थापा पक्षले सहयोग नगरे कोइरालाको यात्रा सहज नहुने थापा समूहका एक केन्द्रीय सदस्यले बताए। ‘उहाँले भेला त गर्नुभएछ तर यात्रा सहज छैन, अंक गणित पनि कमजोर छ,’ ती केन्द्रीय सदस्यले भने।

 मन्त्रिपरिषद् पुनर्गठन हुन लागेकाले आफ्नो पक्षबाट धेरै सहभागी गराउन कोइरालाले यस्तो गरेको हुन सक्ने कांग्रेसका एक नेताले बताए। कोइरालाले साउन १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेर वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल गरेका थिए। कोइरालासँगको भेटघाटपछि दाहालले सरकार ढाल्ने आन्दोलन थाल्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

कोइरालाको राजनीतिक दौडधुपलाई सत्ता समीकरण फेरबदल गर्ने कसरतका रूपमा विश्लेषण गर्न थालिएको छ। कांग्रेस अनुशासन समितिले कोइराला पक्षका १८ जनालाई कारबाही गरेको छ। त्यसपछि कोइराला सभापति देउवासँग रुष्ट छन्।

कोइरालाले आइतबार साँझ पनि सामाजिक स®ञ्जालमार्फत सरकारको विरोध गरेका छन्। उनले एमालेका राष्ट्रियसभा सदस्यले संघीय निजामती सेवा विधेयकमा राखेको संशोधनप्रति आपत्ति जनाएका छन्। एमालेका सांसदले कुलिङ पिरियड राख्न नहुनेलगायत विषयमा संशोधन प्रस्ताव राखेका छन्। ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न। कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर