• २०८२ श्रावण ८ बिहीबार
  • Thursday, 24 July, 2025

ओलीले विद्यालाई राजनीतिमा राेक लगाएपछि मदनकि छाेरी रुष्ट

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णय गरेपछि उनको छोरी उषा किरण भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि व्यक्त गरेकी छिन्। 

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उनले यो निर्णयलाई लिएर छक्क परेका प्रतिक्रियाप्रति आफू अचम्मित भएको बताउँदै पार्टीभित्रको निर्णय प्रक्रिया र मानवीय संवेदनाहीनताप्रति गहिरो व्यंग्य गरेकी छिन्।  

उषाले आफ्नो सामाजिक सञ्जाल पोष्टमा लेखेकी छिन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क परेका देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहेका छन्? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’  

उनले कमरेड पुष्पलालको स्मृति दिवसको सन्दर्भ जोड्दै आफ्नो परिवारले सधैं नेकपा एमालेको नैतिक समर्थनमा जोड दिएको स्मरण गरेकी छिन्। उनले थप भनेकी छिन्, ‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग! मलाई पहिले लाग्थ्यो किन उनको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन। हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्छिन्। सोहीअनुसार कोसिस गरियो।’  

तर, पछिल्लो एक महिनाको अनुभवले उनलाई नैतिक समर्थन पनि स्वीकार नहुने तहसम्म पार्टी पुगेको ज्ञान भएको उनको भनाइ छ। उनी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउँछन्। नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो। त्यस कारण यो प्रकरणलाई धन्यवाद।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर