• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

कांग्रेस पदाधिकारी बैठकः रुपन्देहीको चुनावबारे ब्रिफिङ

काठमाडौं । आज बिहान बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे ब्रिफिङ भएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उक्त जानकारी दिएका हुन्। आजको बैठकमा बालकृष्ण खाण पनि सहभागी भएका थिए। 

रुपन्देही ३ मा उनको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा केसीले भने, ‘व्यक्तिकाे नामबारे कुनै चर्चा चलेको छैन। सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’

बैठकमा जिल्ला इन्चार्ज र प्रदेश इन्चार्जले त्यहाँकाे अवस्थाबारे जानकारी दिएकाे बताए । कांग्रेस पदाधिकारी बैठकमा पार्टीका तर्फबाट रहेका मन्त्रीहरू पनि सहभागी थिए। 

मन्त्री फेरबदलका विषयमा कुनै छलफल नभएको केसीले बताए । बैठकमा नेता शेखर कोइराला पनि सहभागी भएका थिए। 

रुपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ। उक्त पद पूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको हो। 

डा. शेखर लगायतले साे क्षत्रमा खाँडलाइ नै उम्मेदवार बनाउनु पर्ने प्रस्ताव गरिरहेका छन् ।

केही दिनअघि सभापति देउवालाई भेट्न पुगेका देउवानिकट ५ जना पूर्वपदाधिकारीले रूपन्देही ३ को उपनिर्वाचन प्रसंगमा बालकृष्ण खाण वा अरू कुनै उम्मेदवार तय गरेर जित्ने गरी तयारी गर्न सभापति देउवालाई सुझाव दिएका थिए।

२०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही–३ मा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो थियो। उसले २० हजार २७९ मत प्राप्त गरेको थियो।

दोस्रो स्थानको एमालेले १६ हजार ९८६ मत प्राप्त गरेको थियो। तेस्रो मत ल्याएको रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो।

राप्रपाले ९ हजार १५४ मत ल्याएको थियो।

नाउपाले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोसपाले ५  हजार ५३, जनमतले ३ हजार ६३२ ल्याएकाे थियाे ।

माओवादी केन्द्रले घनश्याम भुसाललाइ समर्थन गरेकाे थियाे भने समानुपातिकमा भने २ हजार ६३७ मत ल्याएको थियो।

पदाधिकारी र पूर्वपदाधिकारी बैठकले एमालेलेका सांसदहरूले संसदीय दलको निर्णय प्रस्ताव दर्ता गरेको भनेकाले गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले बताए।

उनले भने, ‘सांसदहरू आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ, तर संशोधन प्रस्ताव राख्ने एक जनाले हामीले संसदीय दलको निर्णय अनुसार राखेको भन्नुभएको छ। त्यसमा आपत्ति छ। सरकारले संयुक्त छलफल गरेर ल्याएको कुलिङ पिरियडसम्बन्धी प्रावधान छ। त्यहाँ कसरी कसको कमजोरी भयो त्यो छानबिन हुँदैछ। त्यसमा पनि दलको निर्णय अनुसार हो भने भारी आपत्तिजनक कुरा हो। यो गठबन्धन सरकार हो गम्भीरतापूर्वक हेर्नुपर्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर