कांग्रेसमा लफडाः मुख्यमन्त्री लामाले गरे ४ मन्त्री पदमुक्त, राजीनामा नदिने

हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् । 


लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिएका हुन् । कांग्रेस २१ सांसदले लामाविरुद्ध हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यसका लागि ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २१ जनाले हस्ताक्षरसमेत गरिसकेका छन् ।

उता लामाले भने राजीनामा नदिने अडान लिएका छन् । लामाले भने, 'किन राजीनामा दिने ? म राजीनामा दिन्नँ । राजीनामा दिने कुरा गरेको छैन । म त काम गरिरहेको छु । चुनावबाट दलको नेता निर्वाचित भएको हुँ । अनि किन राजीनामा दिने ? अहिले मेराविरुद्ध जे गर्न खोजिएको छ, यो एउटा रोग हो । यसले पछि अरु प्रदेशमा अस्थिरता भित्र्याउँछ । मलाई कसैले छोड्न भनेर भनेको पनि छैन । एक/एक वर्ष मुख्यमन्त्री हुने सहमति भएको पनि होइन । सहमति भएको भए संसदीय दलको निर्वाचनमा किन चुनाव हुन्थ्यो । सहमतिमै भइन्थ्यो होला नि ! चुनावबाट निर्वाचित भएर म दलको नेता भएको हो । त्यसैले भाग्ने कुरा छैन । म दलको नेतामा अविश्वास प्रस्ताव आए फेस गर्छु । म भागेर हिँड्ने व्यक्ति होइन । दलको नेता हटेपछि गठबन्धनका बीच अर्को निर्णय नभएसम्म म मुख्यमन्त्री कायमै रहन्छु । दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिने कुरै छैन ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर