संसदमा कांग्रेसले उठायाे अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको कुरा (भिडियाे)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईका विषयमा संघीय संसदको राष्ट्रिय सभामा महाभियोगको विषयले प्रवेश पाएको छ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार प्रमुख राईका विषयमा अब संसदले विषय अघि बढाउनु पर्ने बताएकी छन् ।
उनले भनिन्, ‘अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो। यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो। र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ। त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु। राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ। एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ। सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन। अविश्वास बढेको छ। सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ। यो एउटा गम्भीर समस्या हो।’
आजको राष्ट्रिय सभाको बैठकमा विषेश समयमा बोल्दै उनले विगतमा पनि अख्तियार प्रमुखमाथि महाभियोग लागेको स्मरण गराउँदै वाईडबडीबारे अदालतले उठाएको प्रश्नको जवाफ कसले दिने हो भन्दै गम्भिर बन्न आग्रह गरिन् ।
आजै अख्तियार दुरुपयोग अनुसधान आयोगमै पनि राई विरुद्ध उजुरी परेको छ । प्रमुख राईविरुद्ध वकिल तथा अभियान्ता युवराज पौडेल (सफल)ले आज उजुरी दर्ता गरेका हुन् ।
अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।
'मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ । त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ' सफलले दायर गरेको उजुरीमा भनिएको छ ।
प्रतिकृया दिनुहोस