• २०८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025

राज्य सेटिङमा चलिरहेका बेला त्यसकाविरूद्ध सुशासनकाे अभियान चलाउने पार्टी नेतृत्व खुइल्याउनु सही होइन: पुन

पछिल्लो समय पार्टीभित्र विधि र पद्धति छैन भनेर नेतृत्वप्रति अत्यन्तै गुनासो बढिरहेको छ । यस विषयमा तपाईंको धारणा के छ ?

हाम्रो पार्टी जनयुद्ध र जनआन्दोलनबाट आएको हो । ठुलो आन्दोलनबाट आएको पार्टी भएको हुनाले विचार र राजनीतिलाई केन्द्रमा राखेर त्यो वरिपरिबाट विधि, पद्धति र आन्दोलन सञ्चालन गर्ने हाम्रो विशेषता रहिआएको छ । हाम्रो पार्टी विशुद्ध नोकरशाही ढङ्गको संगठनात्मक पद्धतिमा मात्रै विश्वास गर्दैन । तर फेरि कहिलेकाहीँ यो गतिशील प्रकारको, क्रान्तिकारी प्रकारको एउटा स्वयंसेवी संगठनको रूपमा लाने पार्टीको मूल स्पिरिटलाई दुरुपयोग पनि हुने गरेको छ। आफूखुसी जहाँ पाए त्यहीँ बोल्दिने, नेतृत्वबारेमा खण्डन गर्ने, नेतृत्वबारे बोल्ने, पार्टीबारे बोल्ने, आफ्नो सहयोद्धाबारे जे पनि टिप्पणी गर्दिने, त्यसै पार्टीको नीति, विधिभन्दा बाहिर गएर पनि काम गर्ने, पार्टीको स्वीकृत कार्यदिशाविपरीत आफूखुसी आफ्नो कुरा गर्दै हिँड्ने जस्ता पनि समस्या देखिन्छन्।

तर फेरि पनि हामी माओवादी आन्दोलन स्वयंसेवी आन्दोलन हो। विचार मिल्नेहरू, राजनीतिक मिल्नेहरू, कार्यशैली मिल्नेहरू, भावना मिल्नेहरू सँगै रहेर देश, जनताको हितमा काम गर्ने आन्दोलन नै भएको हुनाले त्यहीलाई नै आधार बनाएर छलफल र बहस गर्नुपर्छ। तर यसलाई आधार बनाउँदा पनि वर्ग पक्षधरता बिर्सिने, मूल संघर्ष गर्नुपर्ने पक्ष या प्रतिपक्षसँग मिलेमतो गर्ने जस्ता प्रवृत्तिहरू या न्यूनतम संगठनात्मक अनुशासनमै नरहने प्रवृत्तिहरू या पार्टीलाई नै कमजोर बनाउने ढंगले गुटबन्दीहरू, समानान्तर ढंगले काम गर्ने प्रवृत्तिहरूलाई पार्टीले बेलाबेला निरुत्साहित गर्दै आएको छ, निरुत्साहित गर्नुपर्छ। सकेसम्म हाम्रो पार्टीले आत्मअनुशासन, विचारमा, राजनीतिमा, कार्यशैलीमा, कामकारबाहीमा, स्वैच्छिक केन्द्रीकरण होस्, स्वैच्छिक रूपले नै प्रेरित होस् भन्ने नै हाम्रो बढी जोड छ। हामीले त्यसरी नै संगठन सिद्धान्तलाई, विधि पद्धतिलाई लिने गरेका छौँ ।

पार्टीले एउटा उचाइ लिइरहेको बेला यस्ता खालका विवादहरू किन देखिन्छ  ?

यसको नियमै हो– दुई अवस्थामा विचलन देखिन्छ। तपाईं असाध्यै जित्नुभयो भने पनि हौसिएर आफ्नो धरातल छोड्ने, आफैँलाई केन्द्रित ठान्ने, यो संसारै आफैँले जितेको जस्तो या कोही पनि छैन अब भन्ने जस्तो विचलन आउँछ। त्यसलाई हामी वाम विचलन भन्छौँ । अर्को हार्दा चाहिँ भागदौड हुन्छ । अपजस अरूको टाउकोमा हाल्ने हुन्छ । त्यो ढंगले विचलन त्यसलाई हामी दक्षिणपन्थी विचलन या आत्मसमर्पणवादी, भागदौड गर्ने, विसर्जनवादी खालको विचलन देख्छौँ ।

केही समय पहिलेदेखि नै नेतृत्वमा विचलन भयो, पार्टी तेस्रो भयो, सानो भयो भनेर ठुलो पार्टी खोज्ने, मेहनतै नगरेर चुनाव जित्ने, अलि ठुलो समूहबाट केही स्वार्थ लिने खालको प्रवृत्ति पनि नदेखिएका होइनन् । पछिल्लो समयमा हामी सरकारमा पनि सफल भयौँ । प्रतिपक्षमा पनि सशक्त रूपले संसददेखि सडकसम्मका पहलकदमी लियौँ । त्यसैले खासगरी माओवादी आन्दोलनमा देखिएका सीमाहरू, अहिलेको लोकतान्त्रिक, संघीय व्यवस्थामा देखिएका सीमाहरूलाई परिमार्जन गर्ने, शुद्धीकरण गर्ने र सर्भिसिङ गर्ने आन्दोलन जब पार्टीले सुरु गर्‍यो, पार्टी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सरकारदेखि सडकसम्म, जनतामा जाने अभियानहरू, जनतासँग रहेर यस्ता अभियानहरू सञ्चालन गरियो । त्यसको प्रतिविम्बन पनि देखिरहेको छ । एकातिर त्यसले देखाएको सफलतामा पनि कहिलेकाहीँ नेतृत्व सफल हुँदा, आन्दोलन सफल हुँदा पनि अर्को कोणबाट प्रहार हुने खालका विचलनहरू देखिन रहेछन्, त्यो देखिरहेको छ । अर्कोतिर फेरि स्वाभाविक रूपले कस्तो देखिन रहेछ भने सफल नेतृत्व सफल, आन्दोलन सफल भयो भने बाहिरबाट पनि फेरि त्यही अनुसारको घेराबन्दीहरू, प्रहारहरू, त्यो असफल बनाउने, फुट पैदा गर्ने, अविश्वास पैदा गर्ने प्रयत्नहरू हुँदा रहेछन् । यो दुवै कुराहरू हाम्रो आन्दोलनमा पछिल्लो समय देखिरहेका छन् ।

त्यसैले पार्टीभित्रै देखिने प्रवृत्तिलाई हामी पार्टीभित्रै संघर्ष गर्छौँ, पार्टीभित्रै छलफल, बहस, रूपान्तरणको कोसिस गर्छौँ । पार्टीबाहिरबाट हुने आक्रमणलाई हामी पार्टीलाई एकताबद्ध गरेर हामी सामना गर्छौँ कि माओवादी आन्दोलन जनतासँग, जनताको बिचमा आफ्ना कमजोरीहरूलाई स्वीकार गर्दै,  आफूलाई रूपान्तरण गर्दै जान तयार छ । त्यसैगरी सरकार, सदनका कामहरूलाई पनि आफूले जिम्मेवारी पाउँदा पुरानै धारबाट होइन कि नयाँ जिम्मेवारीका साथ जान्छौँ । यो हाम्रो प्रतिबद्धता हो। यसमा जो–जो साथीहरू तयार हुन्छ, त्यो सँग एकताबद्ध हुन्छौँ । जो तयार हुँदैन, ऊसँग संघर्ष हुन्छ । यो नै अहिलेको पार्टीको पोजिसन हो।

पछिल्लो समय अध्यक्ष प्रति नै गम्भीर प्रकृतिका आरोप पार्टीकै एउटा पदाधिकारी लेबलकै व्यक्तिहरूले लगाउन थाल्नुभएको छ। यस विषयमा पार्टीले नयाँ खालको केही निर्णयहरू गर्छ ?

यसमा हामी खासगरी गत वर्ष हामी देशव्यापी रूपमा परामर्श बैठक पनि गर्‍यौँ । ठुलो जनवादको अभ्यास गर्‍यौँ । पार्टी केन्द्रीय कार्यालयमा पनि हामी झन्डै हप्ता दिन जति बहस गरेर जसलाई जे विषयमा बोल्न मन लागे पनि बोल्ने पार्टीको कार्यदिशा, नेतृत्वबारेमा झन्डै–झन्डै दुई घण्टा, अढाई घण्टासम्म पनि एकैजना साथीले बोल्नुभयो । त्यसपछि स्थायी समितिको फेरि झन्डै एक हप्ता बैठक बस्यो । त्यहाँ पनि स्थायी समितिमा सबै साथीहरूले बोल्ने अवस्था बन्यो । त्यसपछि केन्द्रीय समिति ठुलो भयो, समय पाउँदैन, हप्तौँ दिन लाग्ने भएपछि प्रदेश–प्रदेशमा गएर केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, केन्द्रीय तहका पदाधिकारीहरू र प्रदेश पदाधिकारीहरूको बिचमा खुल्ला–खुल्ला छलफल भयो । त्यसरी हामी छलफल गर्‍यौँ ।

अनि केन्द्रीय समितिमा आइपुग्दा एक खालको फेरि एकता पनि पैदा भयो । पार्टीभित्र भएको संश्लेषण, अनुभवलाई लिएर हामी जनतामा जाऔँ रूपान्तरणका लागि को–को तयार हो व्यवहारमै हेरौँ भनेर हामी छ महिना नै अभियान पनि चलायौँ । तराई–मधेस जागरण अभियान, पहाडी लोकमार्ग केन्द्रित अभियानहरू चलायौँ । त्यसले रूपान्तरण पनि पैदा गरेको, जनतामा उत्साह, माओवादी फेरि जनतामा आयो भन्ने खालको एउटा लहर पनि पैदा भयो, राम्रो भयो। त्यसपछि फेरि केही समस्या आयो यो राम्रो विषय होइन । पर्याप्त जनवाद, पर्याप्त छलफल पनि गर्ने अनि फेरि आफ्नो कुरा फेरि बाहिर पनि राख्ने भन्दा यो यसले पार्टीभित्र अराजकता ल्याउँछ। यसले पार्टीभित्र  अनावश्यक गुटबन्दीहरू, ध्रुवीकरणहरू, पार्टी रूपान्तरण हुने दिशामा, जनताले विश्वास गर्ने दिशामा राम्रो हुँदा त कमसेकम नेतृत्व त राम्रो हो भन्न सक्नुपर्छ। नेतृत्वलाई जस्तोसुकै राम्रो काम गर्दा, जनतामा जाँदा, जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप, लाञ्छना जस्तो लिडरसिपलाई कमजोर गर्ने जस्ता जो प्रवृत्ति छ, त्यो स्वीकार्य हुँदैन। त्यस बारेमा छलफल गर्न हामीले स्थायी समिति बैठक बोलाएका छौँ । त्यहाँ हामी छलफल गर्छौँ । जिम्मेवारीपूर्वक नै छलफल गर्छौँ । हामीलाई कुनै आवेग, उत्तेजना छैन। तर आन्दोलनका विभिन्न मोडमा आउने प्रवृत्तिहरू, त्यस प्रकारका समस्याहरूसँग छलफल, बहस, रूपान्तरणकै विधिबाट जानुपर्छ। रूपान्तरण हुन नसक्नेलाई के गर्ने, त्यो पनि फेरि कमिटीले नै छलफल गर्छ। रूपान्तरण हुन तयार हुनेहरूलाई फेरि रूपान्तरित गर्ने, आन्दोलनमा सँगसँगै जाने खालको हामी वातावरण बनाउँछौँ ।

सरकारले नेपाली कांग्रेस र नेकपा एमालेले हरेक ठाउँमा भागबन्डा गर्ने, अनियमितता, भ्रष्टाचार लगायतका कुराहरू आइराखेका छन्। यसमा प्रमुख प्रतिपक्षी दलको हिसाबले अब माओवादीको प्राथमिकता के हुन्छ ? यो सरकार नै विकल्प खोज्ने गरी जाने हुन्छ कि हुँदैन ?

यो अति भयो, हामीले त भनेकै थियौँ यो बिचौलियाको स्वार्थमा, बिचौलियाको प्रयत्नमा बनेको सरकार भनेका थियौँ । किन भन्दा तत्कालीन सरकारले बिचौलियामाथि प्रहार गरेको थियो । त्यसोभन्दा पूर्वाग्रह हो जस्तो लाग्थ्यो मान्छेलाई, अहिले आम मान्छेले बुझ्यो कि यो त बिचौलियाले बनाएको छ, बिचौलियाकै स्वार्थमा रहेछ भनेर घर–घरमा, हरेक गृहिणीले भन्ने, चोक–चोकमा हरेक नागरिकले भन्ने अवस्था बनेको छ । लाजैमर्दो ढंगले मिलेमतो, भागबन्डाहरू, टेन्डरहरू पनि टुक्रा–टुक्रा गरेर बाँड्ने, पासपोर्ट छपाइको लागि त दुइटा टुक्रा गरेर दुइटा पार्टीका ठेकेदारहरूलाई दिने, अर्को कुनै भन्ने यस्ता प्रकारका असाध्यै तल्लो तहको मिलेमतो, बिचौलियाहरूको स्वार्थको काम, भ्रष्टाचार देखिएको छ। सुकुम्वासीहरूको समस्या समाधानको कुरा गर्दै त्यहाँ  बिचौलियालाई पोस्ने खालको विधेयक त आएकै थियो, विरोध हामी गर्दै थियौँ । अहिले ठूल्ठूला केसहरू बाहिर आएका छन्। एक जना मन्त्रीले राजीनामा दिनुभएको छ। अरू मन्त्रीहरू, पूर्वमन्त्रीहरू, माननीयहरू, नेताहरू अहिले पनि निर्लज्ज ढंगले टाँसिराखेका छन् सत्तामा । यस्तो नाङ्गो भ्रष्टाचार, अनियमितता देखिएपछि हामी त्यसको आम रूपले जनतामा पनि भण्डाफोर गरिराखेका छौँ । संसद्मा सशक्त आवाज उठाइराखेका छौँ । भिजिट भिसा प्रकरणदेखि दुनियाँ यस्ता विकृति देखिएको छ  ।

पुरैका पुरै राज्य सेटिङमा, भ्रष्टाचारमा लिप्त भएको छ। यसको हामी भण्डाफोर गर्छौँ । सशक्त प्रतिवाद हामी गर्दै आएका छौँ, गर्छौँ । सरकार हाम्रो अहिलेको प्राथमिकता होइन। तर जनतामा एक खालको निराशा र आक्रोश भएकाले हामी सशक्त रूपले लान्छौँ । सत्ता गठबन्धनभित्रै विकृति, विसङ्गति, भ्रष्टाचार हद भयो भनेर विकल्प खोज्ने कुरा भइरहेको छ। त्यो विकल्प खोज्दा त्यहीभित्र खोज्नुस्, हामी २०८४ मा विकल्प दिन्छौँ भनेका छौँ । त्यहीभित्र विकल्प खोज्यो भने त्यो अवस्थामा सोच्ने कुरा हो। तर अहिले हामी यी सबै विकृति, विसङ्गतिको खबरदारी गर्ने, संघर्ष गर्ने, कारबाही गर्न दबाब दिने र बाँकी हामी २०८४ मा ठुलो स्केलमा हामी जनताको विश्वास लिएर विकल्प दिएर हामी यो सबै चीज सुधार गर्ने हाम्रो सङ्कल्प, प्रतिबद्धता र जनतासँग अपिल गर्छौँ ।

अहिले समग्रमा राष्ट्रिय राजनीतिमा नै सबै ठुला पार्टीको भित्र अन्तरसंघर्ष जस्तो देखिएको छ। यसमा अहिलेको बाहिरको परिस्थितिको दबाब पनि छ। जनताको आक्रोश, आवेगको दबाब पनि छ। खासगरी कांग्रेसभित्र नेतृत्वको संकट पनि छ। एमालेभित्र नेतृत्वको संकट छ। हाम्रोभित्र विचार र नेतृत्वको संकट होइन। विचार, हामी जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र आजसम्मको समाजवादसम्मको कार्यदिशासम्म ल्याउने नेतृत्व, विचार छ र त्यसलाई कार्यान्वयन गर्ने एउटा निरन्तरको नेतृत्व छ। त्यसैले विचार र नेतृत्वमा हाम्रो समस्या होइन। तर त्यसलाई बुझ्ने, त्यसलाई आत्मसात् गर्ने, त्यो अनुसार आन्दोलनमा आफूलाई लगाउनेमा समस्या छ। नेतृत्व तहमै गम्भीर समस्याहरू देखिएका छन्, त्यसलाई हामी छलफल गर्छौँ । कांग्रेस, एमालेभित्र नेतृत्व र विचारकै समस्या छ।  एकथरि मान्छेहरूले यसलाई सबैलाई पुरानो भनेर, पुरानो नेता, पुरानो पार्टी भन्न खोज्छन्। त्यो त्यस्ता प्रवृत्तिहरू अराजक खालका, व्यक्तिवादी खालका, अलि–अलि बढी दक्षिणपन्थी, अलि निरंकुशतावादी खालका छन्। तर लोकप्रिय कुरा गरिराखेका छन्, त्यो पनि हामी सतर्क हुनुपर्छ। त्यस्तै–त्यस्तै बाह्य प्रभाव, यसो नेतृत्व विरोध गरेपछि यसो दुई/चार वटा लोकप्रिय कुरा भएपछि नेता भइहालिन्छ भन्ने जस्ता प्रवृत्ति पार्टीभित्र पनि एकाध देखिन्छ। त्यो सही प्रवृत्ति होइन।

(सोमबार नेकपा माओवादी केन्द्रले तयार पारेको  भिडियो अन्तर्वार्ताकाे अंश)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर