कांग्रेस बागमतीको लफडाः बानियाँ दल नेतामा निर्वाचित

हेटौंडा । बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत पाए। १ मत भने बदर भएको छ।
यसअघि मंगलबार भएको अविश्वासको प्रस्तावमाथिको मत विभाजनमा लामाले १५ सांसदको मात्रै साथ पाएका थिए।
अविश्वासको प्रस्तावको पक्षमा बानियाँका पक्षका २२ सांसदले मत दिएका थिए। यसरी बहुमतको आधारमा अविश्वासको प्रस्ताव पारित भएको थियो।
दल नेतामा बानियाँ निर्वाचित भएसँगै उनकाे मुख्यमन्त्री बन्ने बाटाे खुलेकाे छ ।
कांग्रेसमा दलकाे नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था छ । तर अहिलेका मुख्यमन्त्री लामाले संसदमा भने बहुमत गुमाएका छैनन् । संसदमा उनकाे बहुमत कायमरहेसम्म उनी मुख्यमन्त्री रहिरहनेछन् ।
प्रतिकृया दिनुहोस