खोटाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

खोटाङ । केपिलासगढी गाउँपालिकामा एक बालिका सामूहिक बलात्कारमा परेकी छन् । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया छात्रालाई आफ्नै साथीहरूले बलात्कार गरेका हुन् ।
स्थानीय एक विद्यालयमा कक्षा–८ मा अध्ययनरत बालिका उक्त विद्यालयकै कक्षा–९ मा अध्ययनरत दुई जनाबाट गत साउन १९ गते बलात्कृत भएको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फर्कने क्रममा 'तिमीसँग कुरा गर्नु छ' भन्दै दुई जनाले जङ्गलको बीचमा आएपछि बाटो छेकेर ओढारमा लगेर रातभरि बलात्कार गरेको पीडित बालिकाको परिवारले जनाएको छ । विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
आफन्तले साउन २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएको मिश्रले जनाएका छन् । आरोपित दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि बिहीबार आफन्तको जिम्मा लगाएर पठाइएको छ । उक्त घटनामा संलग्न दुवै जना १५–१६ वर्षका रहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस