• २०८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025

आज जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने दिन

काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा बिहीबार मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा प्रचलित छ । 

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । 

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । 

यसै दिन तागाधारीहरूले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् ।  यसका लागि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीति गरी बसिन्छ ।  यसरी व्रत बसेका तागाधारीहरूले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ ।  ऋषिलाई तर्पण गर्ने भएकाले  यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।  मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । 

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।  जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ ।  अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा मानिन्छ । 

यस किसिमको महत्व भएकाले नै बिहानै यजमानहरू आफ्ना गुरु पुरोहितकहाँ गई यज्ञोपवित मन्त्रन्छन् ।  मन्त्रेको जनै  वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ ।  कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा यसै दिन मन्त्रिएको यज्ञोपवित फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता  छ ।  

यसै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।  यस दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।  यसै दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ ।  यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । 

नेपालको तराई क्षेत्रमा भने यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।  यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।   

यस दिन काठमाडाँैको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाँघु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।  

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउँछन् ।  विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।  यस  दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर