कैलाली कारागार अपडेटः लगातार झडप भइरहँदा जेल प्रशासनको बेवास्ता 

धनगढी । कैलाली जिल्ला कारागारमा कैदीबन्दीको एक समूहले अर्को समूहलाई शुक्रबार राति सांघातिक आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । दुवै समूहका ४८ कैदीबन्दी घाइते छन् । कारागारमा रहेका दुई ब्लकमध्ये ‘ए’ ब्लकका कैदीबन्दीले ‘बी’ ब्लकमा गएर अन्धाधुन्ध आक्रमण गरेका हुन् । 

कारागार प्रशासनका अनुसार दुई ब्लकबीच अग्लो पर्खाल छ । ‘ए’ ब्लकका कैदीबन्दी शुक्रबार रातिपर्खाल तोडफोड गरेर अर्को ब्लकमा छिरेका थिए । उनीहरूको आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको हो ।

भरतको निधार र तिघ्रामा धारिलो हतियार प्रहार भएको पाइएको उनका भाइ विजयले बताए । भरत लागूऔषध मुद्दामा गत माघमा पक्राउ परेका थिए । विजयले घटनाको छानबिन नहुँदासम्म शव नउठाउने अडान लिएका छन् । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । सुरक्षा संवेदनशीलता र ठाउँ अभावका कारण दिउँसोतिर उनीहरूलाई अस्पताल नजिकै रहेको कोरोनाकालीन होल्डिङ सेन्टरमा राखेर उपचार गरिएको थियो ।

घाइतेलाई होल्डिङ सेन्टरमा सारिसकेपछि मात्र आफन्तले भेट्न पाएका थिए । भेटघाट गरेर फर्किएका घाइतेका आफन्तका अनुसार धेरैजसोको शरीरभरि घाउचोट रहेको, केहीका हात र खुट्टा भाँचिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ३६ जनाको अवस्था मध्यम र ९ जना सामान्य रहेको राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम निर्देशक प्रकाशराज भट्टले जानकारी दिए । ‘घाइतेमध्ये धेरैजसोमा धारिलो हतियार प्रहार गरिएको छ,’ उनले भने । गम्भीर घाइतेमध्येका आयुष भट्टलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

कैलाली कारागारमा शुक्रबारको घटना हठात् भएको भने होइन । एकछत्र रजगज चलाइरहेको नवीन रावल समूहका अधिकांशलाई जेल सरुवा गरिएपछि कारागार अशान्त थियो । रावल समूहका १४ जनालाई कारागार प्रशासनले गत ३ असारमा दाङ, बर्दिया र दैलेखमा सरुवा गरेको थियो । लगत्तै त्यही समूहका थप दुई जना पनि स्थानान्तरण भए । बाँकी रहेका आठ जना पनि सरुवाको सूचीमा थिए । त्यसपछि उनीहरूले ‘विरासत’ जसरी पनि जोगाउन हुलदंगा मच्चाउन थालेका थिए । उनीहरू कारागारको ए ब्लकमा छन् ।

अर्कातिर कारागारभित्र जयन्द्र शाहको समूह छ । अमरावती खुकुरी काण्डमा संलग्नको अर्को समूह पनि छ । जेलभित्र विभिन्न समूह भए पनि ती रावल समूहको रजगज चलेका बेला दबिएका थिए । तर जब रावल समूहलाई छिन्नभिन्न पारियो, अर्को समूह पनि सक्रिय हुन थालेको थियो ।

एक सुरक्षा अधिकारीका अनुसार कैलालीमा रावल र शाहका छुट्टाछुट्टै समूह पहिलेदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएका थिए । ती समूहका केही व्यक्ति कारागार चलान भएपछि ‘ग्याङ वार’ पनि कारागारभित्रै प्रवेश भएको उनी बताउँछन् । ती सुरक्षा अधिकारीले भने, ‘जेलभित्रैबाट पनि कैलालीमा सुरक्षा चुनौती देखिएपछि नवीन समूहको सरुवा गरिएको थियो ।’

कैलालीको लम्कीचुहा–१ लम्की चौराह बस्ने २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको अभियोगमा रावल पक्राउ परेर जेल चलान भएका थिए । २३ कात्तिक २०७८ मा टीकापुर–१ स्थित सिद्धार्थ होटलनजिकै धारिलो हतियार प्रहार गरी बडुवालको हत्या गरिएको थियो । त्यति बेला करिब दुई किलोमिटरसम्म लखेटेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । जेल चलान भएपछि उनले त्यहीभित्र समूह बनाएका थिए । शाह र रावल कुनै बेला एउटै समूहमा थिए तर पछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।

कारागारभित्रको परिस्थित खलबलिएकै बेला प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत २६ असारमा छापा मारेर कैदीबन्दीबाट मोबाइल लगायतका सामग्री बरामद गरेका थिए । त्यसको पर्सिपल्ट २८ असारमा कैदीबन्दीबीच झगडा मच्चियो । त्यस क्रममा खगेन्द्र बोगटी कुटिए । उनलाई जयन्द्र शाह समूहका कपिल श्रेष्ठले कुटपिट गरेको रावल समूहको आरोप छ । कपिल बडुवालका साथी थिए । तर बडुवाल हत्याका बेला उनको ‘लोकेशन’ रावललाई उपलब्ध गराएको आरोपमा कपिलमाथि मुद्दा चलेको थियो । तर जेल परेपछि रावल र कपिल फरकफरक समूहमा थिए ।

कारागारमा त्यतिबेला कार्यरत एक कर्मचारीका अनुसार कपिललाई बडुवाल हत्या प्रकरणमा जोडिएका अन्य व्यक्तिबाट पनि सुरक्षा चुनौती थियो । ‘एउटा समूहको नेतृत्व गरिरहेका कपिलमाथि कुटपिट भएपछि कैदीबन्दीले जेलर बसन्त खत्रीविरुद्ध नाराबाजी गरे ।’

यहीबीच कारागार प्रमुख खत्री ३१ असारदेखि बिदामा बसे । अधिकृतपछिका नायब सुब्बा ज्ञानेन्द्र ओझालाई निमित्तको जिम्मेवारी दिइएकामा उनी पनि केही दिनपछि बिदामा बसे । त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी खरिदार रामकुमार चौधरीलाई दिइएको थियो । ‘म पनि भर्खरै आएको हुँ, यहाँभित्रको धेरै कुरा मलाई पनि जानकारी छैन,’ चौधरीले भने । यत्रो लफडा हुँदा जेलरलाई किन बिदा दिइयो भन्ने विषयमा गृहका अधिकारीले स्पष्ट बताएका छैनन् । चौधरी भने खत्री सिकिस्त बिरामी परेर बिदा बसेको बताउँछन् ।

कारागार व्यवस्था विभागले बाँकेका जेलर जालन्धर भुसाललाई शनिबार कैलाली कारागार प्रमुखका रूपमा खटाएको छ । १ सय ५० जना क्षमताको कैलाली कारागारमा हाल ६ सय ९५ कैदीबन्दी छन् । तीमध्ये ५८ महिला र अरू सबै पुरुष हुन् ।

मानवअधिकार आयोगका निर्देशक भट्टका अनुसार यही बीचमा कारागारको आन्तरिक प्रशासनको सम्बन्ध, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल हुने गरेको लगायत विषयमा आवश्यक पहल गरिदिन आग्रह गर्दै ५ सय ९० कैदीबन्दीले हस्ताक्षरसहित निवेदन दिएका थिए ।

‘त्यसपछि हामीले १९ साउनमा जिल्ला, प्रदेश र केन्द्रका सम्बन्धित सबै निकायलाई ध्यानाकर्षण पत्रसमेत पठाएका थियौं,’ उनले भने । परिस्थितिलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिँदा बिहीबार दिउँसो ए ब्लकको समूहले बी ब्लकमाथि आक्रमण गर्‍यो, जसमा ५ घाइते भए । त्यसपछि कारागार सुरक्षामा रहेका सबै प्रहरी फिर्ता बोलाएर अर्को टोली खटाइएको थियो ।

प्रजिअ हमालसहित सुरक्षा निकाय प्रमुखले शुक्रबार दुवै समूहका कैदीबन्दीबीच छलफल गरेका थिए । त्यतिबेला ‘बी’ ब्लकका कैदीबन्दीले आफूहरू असुरक्षित रहेको बताएका थिए । ‘शुक्रबार दिउँसो दुवै पक्षबीच छलफल गरेर आइन्दा कुनै झमेला नगर्ने समझदारी गराएका थियौं,’ प्रजिअ हमालले भने, ‘राति अकल्पनीय रूपमा यस्तो घटना भयो ।’

कैदीबन्दीले शनिबार साँझसम्मै कारागार नियन्त्रणमा लिएका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी हमालसहित कुनै पनि सुरक्षा निकायका प्रमुख र प्रतिनिधिलाई भित्र जान दिएका थिएनन् । उनीहरूले मूल गेटमा ग्यास सिलिन्डर राखेर कोही भित्र आए पड्काइदिने चेतावनी दिएको प्रजिअ हमालले बताए । कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार कारागारभित्र नाइके र चौकीदारकै हैकम चल्ने भएकाले धेरै हस्तक्षेप गर्न सक्ने अवस्था थिएन ।

राति भने सुरक्षाकर्मीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर