बागमतीमा कांग्रेसको लफडाः ३ मन्त्री नियुक्ति पक्का नभएसम्म विश्वासको मत नदिने 

काठमाडौं । नेपाली कांग्रेस बागमतीका निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य बहादुुरसिंह लामा पक्षधरका सांसदहरुको बैठक काठमाडौंमा जारी छ । बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि आज ४ बजे संसद बैठक आह्वान गरिएको छ । तर, लामा पक्षका सांसदहरु भने हेटौडा पुगेका छैनन् ।

लामा समूहको आन्तरिक बैठक जारी रहेकाले काठमाडौंमा बैठक जारी रहेको प्रदेश सभामा एक सदस्यले जानकारी दिए । ‘हामी बैठकमै छौं । विश्वासको मत दिनु अघि समूहको बैठक राखेका हौं,’ लामा पक्षका एक सांसदले भने, ‘पार्टी नेताहरुसँग पनि कुराकानी भइरहेको छ । हाम्रा माग सम्बोधनका लागि नेताहरुसँग छलफल भइरहेको छ ।’ लामा पक्षका प्रदेश सभामा १४ सांसद छन् ।

लामालाई कांग्रेसकै सांसदहरु लागेर संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाएका थिए । लामाले संसदीय दलको नेताको हैसियत गुमाइसकेपछि आफू पक्षका तीन सांसदलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । लामाले नियुक्त गरेर सपथ हुन नपाएका तीन सांसदलाई नव गठित मन्त्रिपरिषदमा सहभागी गराउनु पर्ने उक्त समूहको माग छ ।

धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । साथै, सरकार सञ्चालनमा आपसी सरसल्लाह अनुसार अघि बढ्नुपर्ने सुनिश्चिता समेत मुख्यमन्त्री बानियाँसँग लामा पक्षले खोजेको छ । कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्रदान गर्नका लागि ह्वीप जारी गरेका छन् ।

लामाले पहिले आफूले सिफारिस गरेका तीन जनालाई मन्त्री नियुक्ति गरे मात्र आफ्ना पक्षका १४ जनाले विश्वासको मत दिने अन्यथा नदिने चेतावनी दिएका छन् । पहिला मन्त्रीमा नियुक्ति गरिएपछि मात्रै विश्वासको मत दिन आफूहरू हेटौडा झर्ने लामा पक्षका प्रदेश सांसद गोविन्द लम्सालले बताए ।

‘अहिले हामी काठमाडौँमा छौँ, मुख्यमन्त्रीले हामीसँग भएको सहमति कार्यान्वयन गर्नु भयो, हामी उहाँलाई विश्वासको मत दिन हेटौँडा झर्छौं’, लम्सालले भने, ‘होइन भने हाम्रो समूहको कोही पनि बैठकमै उपस्थित नहुने निर्णय गरेको छौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आफूहरूलाई निर्देशन दिएको स्वीकार गर्दै उनले थपे, ‘ल हामीले त विश्वासको मत दिन्छौं । मुख्यमन्त्रीलाई पनि त मन्त्री नियुक्ति गर्न सभापति ज्यूले निर्देशन दिनु भएको छ नि ! उहाँले चाहिँ कार्यान्वयन गर्न नपर्ने ? अहिले यति दबाब आउँदा त उहाँले मान्नु भएको छैन भने विश्वासको मतपछि हामीले भनेको कहाँ कार्यान्वयन हुन्छ ? त्यसैले नियुक्ति नबुझी हेटौंडा आउँदैनौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर