चक्रे मिलनले भनेः म एमालेको सदस्य हुँ

काठमाडाैं । चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।
प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दीपक श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने भए पनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक-पटक यस्ता कसुर गरेकाले मुद्दा अदालत पुगेको हो।
गोरखाका ५४ वर्षीय गुरुङसँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश खड्का, राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको हो।
चक्रे मिलनले आफू नेकपा (एमाले)को पार्टी सदस्यको रूपमा काम गरिरहेको बताएका छन् । साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा आफू नेकपा (एमाले)को गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बयान दिएका हुन् ।
बयानमा उनले भनेका छन्, ‘पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको छु ।’
चक्रेले आफू केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक पार्टीमा आबद्ध भएर समाजसेवा गर्दै आएको जिकिर गरेका छन् । साम्बला होटलमा आफ्नो जन्मदिन मनाउन अरू युवाहरू भेला भएको उनले बताएका छन् ।
‘साम्बाला होटलमा मेरो जन्मदिन मनाउने क्रममा प्रहरी आएपछि हामीहरू मध्ये केही भाइहरूको प्रहरीसँग सामान्य भनाभन मात्र हुन पुगेको हो’ चक्रेले बयानमा भनेका छन्, ‘तर, हामीले कुनै किसिमको अभद्रजन्य व्यवहार गरेको छैन, थिएन ।’
अनुसन्धान अधिकृतहरुले प्रतिवेदनमा उल्लेख गरेजस्तो धारिलो तथा जोखिमयुक्त हतियार आफ्नो समूहले प्रदर्शन नगरेको चक्रेले बताएका छन् ।
बयानमा उनले भनेका छन्– ‘हतियार प्रदर्शन गरेर सार्वजनिक ठाउँमा स्थानीयलाई गाली गलौज गर्ने, डर धाक धम्की दिने लगायतको कार्य मबाट भएको गरेको छैन ।’
प्रतिकृया दिनुहोस