ओली 'बा' , बोकासा र नेपाल !

मध्य अफ्रिकी गणतन्त्रका तात्कालीन जर्नेल जोन वाडेल बोकासा राजधानी शहर बान्गुईमा आफ्नै मामा राष्ट्रपति डाको विरुद्ध बख्तरवन्द गाडीको अगाडी उभिएर भनेका थिए, “जनताको पिता आउँदै छ सत्ता खाली गर” । उनि त्यहि विद्रोह मार्फत १९६६ मा मध्य अफ्रिकी गणतन्त्रको राष्ट्रपती बने । चरम महत्वकाँक्षी उनले चार डिसेम्वर १९७७ मा आफैलाई सम्राट घोषणा गर्दै राजमुकुट पहिरिए !
आज नेपालमा प्रधानमन्त्री केपी ओली छन् । तर उनिलाई उनि भन्दा दिग्गज अरु छन् जस्तै लाग्दैन । उनी नै त्यो सर्वोपरी परिघटनाका योजक र सूचक दुबै हुन् । जो उनको इच्छामा चल्छ , तर्कमा हल्लिन्छ र निष्कर्षमा टुङ्गिन्छ । राम कताका हुनदेखि शिव चाम्लिङ रहेको ठहरसम्म यो उनको बुद्धि विलक्षणता प्रतिक हो । उनको डन्डीवियो जुन ठाउँमा ठडिन्छ पृथ्वीको केन्द्र त्यहि हो ।
संसदमा उनका शब्द बोल्दैनन बरु अहंकार बोल्छन । उनले बोलेको भाषा हुदैन, हुँकार हुन्छ । रविको पंखामा उनी बतास होईन हतास देख्छन् । संगै मन्त्रीमण्डलमा बसेर सिंगो लिची बगँैचा हडप्न यत्न गर्नेहरुलाई प्रत्येक बिहान नुहाइदिएर दिउँसो भरि पवित्र बनाउँछन् र फेरी भिजिट भिषाको आम्दानीको हिसाब गर्न तिनैलाई अह्राउछन् ।
मल अभावमा भलका कुरा गर्छन् । सुदुर पश्चिममा आजपनि खोला आरपार झुण्डीएका तुहिन ओलीले उहिल्यै काटेर पुल हालेका हुन । कोहि खस्दैन कोहि मर्दैन । कर्णालीको खाद्य संकट उनको निगाहामा उहिल्यै निर्मुल भएको हो । कुलमान उनको सपना हो र उनले उहिल्यै यो मुलुकलाई अध्याँरो बाट मुक्त गरेका हुन । भुकम्पको झड्काले घरवार हराएकाहरू उनि मुसुक्क मुस्कुराउँदा चिरिच्याट्ट परेको घरका मालिक भएका हुन ।
मीन गुरुङको दान उनको शान र परान हो । भिजिट भिषा उनको ज्यान हो । मान्छे वेच्नु देशको नियती होला प्रधानमन्त्रीकालागि यो व्यापार हो ! दायाँवाँया बसेकाहरु साना छन् र हुन् । तिनको काम सम्राट ओली वोल्दा ताली बजाउने हो । यसकारण ओलीलाई दिनदिन खस्केको आफ्नो छवी रातारात बने जस्तो लाग्छ । ओली अर्थात एमाले नेता कुष्ण गोपाल श्रेष्ठको भाषामा “राजनितिका पेले” ।
यो वैभव अब एक अत्यासलाग्दो खण्डहर बन्दैछ । जहाँ अतित त छ तर भविश्य छैन । जहाँ पद छ तर मनितो छैन । दरबार छ तर शासन छैन । जसरी बोकासा सम्राट घोषित भएको तिन बर्ष पछि पदच्युत भएर निर्वासनमा गए ।. जसरी वंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाइ उनकै नातेदार सेनाप्रमुखले भने “भाग्ने भए हेलिकप्टर दिन्छु , नभाग्ने भए ज्यान लिन्छु” बन्दै गरेको राष्ट्रिय परिस्थितीले हाम्रा प्रधानमन्त्रीलाई पनि त्यसो भन्न सक्ने असन्तुष्टी आज बजारमा छ ।
नेपाली राजनितिले लगभग विस वर्षमा कोल्टे फेर्ने गरेको छ । यो कोल्टे फेराइको आकार आजको अनुमानभन्दा पृथक हुने निश्चित छ । निसन्देहः केही नेता कि जेल जान्छन कि निर्वासनमा पुग्छन् । प्रचण्ड सरकारको पालामा बनेको मानकले अव सरकारमा जो जाला उसको मापन कतिजना नेतालाई जेलहाल्न सक्यो भन्नेमा हुने छ । त्यसो भएन भने सडक तात्नेछ र भएकाहरू शेख हसिनाको हविगतमा पुग्नेछन् ।
भित्रभित्र बुनिदै र तुनिदै गएको यो विद्रोहको नेता जो कोही पनि हुन सक्छ । जुन विद्रोहले नेता बोक्दैन र नेता जन्माउँदैन । तर यसले नेतृत्वलाई खवरदारी गर्छ र आँशुमा चोपलेर निर्खाछ । यो परिवेश यसै बनेको होइन । यो बन्नुको पछाडी आफ्ना जोगाउनु र रविलाई सताएको जस्तो देखिनु प्रमुख कारण हो । रवि चोखा छन, त्यो होइन । उनि एक यस्तो मस्तिष्कका नयाँ अवतार हुन जो मानिसलाई हावा दिएर प्राणविहिन वनाउँछन । जो देश विर्सिन्छन र आगोले पोले पछि परिवार संझिन्छन । जो ब्यपार र राजनीति उस्तै उस्तै बनाउँछन र अरु नेता भन्दा भाषामा उन्नत छन् ।
आगो सल्किने झिजाँमा हो, झिँजा पछिको पोलाईमा मुढो पर्छ । यो हकिकत हो । आज घृणाको सवै भन्दा उन्नत ब्यपारी उनै हुन । एउटा पात्रलाई अति गर्दा उत्पन्न संंवेदना रविको पक्षमा भए जस्तो देखिए पनि वास्तविकतामा यो सत्ताको विपक्षमा छ ।
मानिसको मस्तिष्कमा बसेको नेताले विगार गर्छन भन्ने विम्व चानचुने छैन । लुट्नेहरू हुन, लुट्छन, आफ्नालाई अवसर दिन्छन र जनतामाथि मौसूफले झैं शासन गर्छन भन्ने भयावह तस्बिर नेताका वारेमा वनेको आजको विम्व हो । नेताका दिनदिनैका उदेकलाग्दां काहवतहरु टेलिभिजनमा सुन्दर होलान जनताको मनमा छैनन् । यस कारण कार्यकर्ताहरु पातलिदै छन् । शुभचिन्तकहरु कुलेलम ठोक्दैछन् । जान अन्जान, ठिक यो पहिरो माथि केपी ओली अर्थात नेपालका प्रधानमन्त्री छन् ।
बरु राजनीतिमा शेर बहादुर अब्बल दरिएका छन् । काँग्रेस सभापतिले हतार नगरी केपी ओलीलाई बोकिरहेर बन्न सक्ने वाम सम्वन्धलाई धरापमा हालिदिएका छन् । विद्यालाई छेक्नु र ओलीलाई बोक्नुमा उनको बाम विभाजनको मक्सद लुकेको छ । बिद्यालाई देखाएर उनले यो पटक ओलीका लागि असंभव मानिएको भारत भ्रमण स्विकृत गराएका छन् ।
विद्या आउदा बाम गठवन्धन बन्छ की भन्ने भय ओलीको लय जस्तै वनाएर उनले निमोठेका मात्र छैनन्, बरु धार विहिन एमालेमा दोधार थोपरेका छन । नियुक्ती र संगतमा आफ्नाहरू भर्ति गरेर रोइलोको विचमा पनि आफ्ना मनसुवा पुरा गरेका छन । जोगाउनु पर्ने छोरा र श्रीमती यसरी जोगाएका छन् कि राज्यसंग भएका सवै दसी प्रमाण अव राज्यको ज्ञानकोषबाट हराएको छ ।
यो सरकार पूरै समय चलाउनु को ध्येय आरजु राणाका निम्ती गरिएको त्यो तयारी पनि हो, जो नजिकिएको काँग्रेस महाधिवेशनमा एक सरप्राइजका रूपमा आयो, कसैले अन्यथा नमाने हुन्छ ।
प्रधानमन्त्री केपी मख्ख छन् । ओली सरकार पुरै चलाउनु काँग्रेसको योजनामा एमाले डुवाउनु हो । तर एमालेजन के र को बोल्नु ? बोले बात लाग्छ, नबोले एमालेको पाप लाग्छ । यो ओली अधिनस्थ एमालेको मनोदशा हो । विद्या – भिम रावलदेखि केही संभावित विद्रोहका स्वरहरू दवाईन्छन र दवाइनेछ । प्रधानमन्त्रीको प्रमुख दुष्मन माओवादी केन्द्र बनेको वा बनाइएको छ । यो काँग्रेसको त्यो मिहिन कुटनीति हो, जसले काँग्रेसलाई योजनावद्धढंगले चौरासी पछिको अभिवावक बनाउँछ ।
एकपटकको बाम एकताको असफल प्रयास सफल वनाउने पहल पनि कम्तीमा संसदको यो कार्यकाललाई टरेको छ । रास्वपा तथा नेकपा माओवादी केन्द्रसँग ओलीले दुरी बढाएका छन, त्यो दुरीले भन्छ संभवत भविष्यमा बन्न सक्ने कुनै पनि समिकरणमा उनिहरुले एमाले नेतृत्वलाई स्विकार्ने छैनन् । २०८४ पछि पनि यो प्रभावी हुनेछ । त्यसो हुँदा एमालेले सरकारको नेतृत्व गर्ने ओलीको यो कार्यकाल नै आन्तिम हुनेछ ।
यो सहि हो– एमालेमा तत्काल ओलीको विकल्प नहोला । विद्या विकल्प बन्न सक्थिन् । त्यो ढोका एमालेले खुल्ला नै छोडेको भए ओली मन नपराउने कार्यकर्ता विद्याको निगरानीमा एमालेमै रहन संभव थियो । यसमा एमाले चुकेको छ । ‘ओलीको विकल्प ओली नै हुन्’ को अतिले एमालेमा खति मात्र उत्पादन हुनेछ । यो यस्तो आपद जस्लाई एमालेले न चिर्न सक्ने छ न छिर्न सक्ने छ । मदन भण्डारी एमालेमा जबजका प्रणेता हुन । एमालेको अहिलेको नीति जवज हो । उनैकी पत्नी विद्या र भण्डारी व्राण्डलाई जस्केलामा राखेर ढोकावाट निस्किने ओली यसै पनि कमजोर हुनेछन् ।
जसरी “देशको पिता” भनेर आएका बोकासाहरु देशवाट धपाईए । केपी ओली पनि “बा” बनेर उदाएका हुन । नेकपा गठनले ओलीलाई सौर्य र शक्तिको उत्कर्षमा पुर्याएको हो । “बा” बाघकोरुपमा फेरिनु एमाले र सिंगो मुलुकका लागि राम्रो कुरा होइन । बाघले झम्टिन्छ / निल्छ । यो निलाई ओकल्नु परेको दिन शक्तिको पखेटा मुनि छोपिएका कयौं उनका भक्तहरू एकाएक हराउने छन् । थाम्नका लागि हाजिर हुने काँधहरुले पराया घरको खाँँबाे धानेर बसेका हुनेछन् । यहि राजनितिको क्रुर नियम हो ।
सबैतिर जित्न खोज्दा कतै नजितिने नियम ओलीले नजानेका होलान् भन्नु मुर्खता होला तर अक्षाँस र देशान्तर बिनाको यो जहाज डुवि छोड्छ । ठिक हो उनि सकिँदा कम्युनिष्ट आन्दोलन पनि कमजोर हुनेछ । संगै के पनि हो भने एउटा पात कुहेर मल बनिसकेपछि नै अर्को पात पलाउँछ ।
-लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
प्रतिकृया दिनुहोस