• २०८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025

‘एभोकाडो सिटी’: प्रचण्डलाई चाँगुनारायणमा फलेकाे एभाेकाडाे उपहार (भिडियाे)

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत गरेको बताएका हुन् ।

'हामीमा तानातान र अस्वस्थ प्रतिस्पर्धा हुनेगर्छ,' पूर्व प्रधानमन्त्री दाहालले भने, 'त्यसको विपरित सबै राजनीतिक दल, संघसस्था र स्थानीय जनताको साथ् र सहयोगमा सम्पन्न यो अभियानले राष्ट्रिय संदेश दिएको छ,' उनले भने ।

अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा यस्ता सामाजिक र आर्थिक अभियान संचालन गर्नुपर्ने उनले जोड दिएका छन् ।

स्वास्थ्य र पर्यावरणको दृष्टिले मात्र होइन, उत्पादन र आम्दानीको दृष्टिले पनि एभोकाड़ो अभियानले राम्रो काम गरेको छ ।' उनले भने, 'साधनश्रोत नभएरै पनि जनस्तरमै जुटाउदै जनहितका अभियान गर्न सकिन्छ भन्ने यो एउटा सफल उदाहरण हो ।'

सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान संचालन गर्न आग्रह समेत गरे । 'कृषी, पर्यटन, उर्जा र उद्योग लगायतका क्षेत्रमा पालिकाको विशिष्टता र विशेषताको आधारमा सम्भावना पहिचान गरौँ ।' उनले भने । रातारात परिणाम नआएपनि निरन्तरको सामुहिक एकता र सक्रियताले सम्वृद्धि सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रममा उनले बैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै रोक्न राष्ट्रिय जागरणको आवश्यकता पनि औल्याएका छन । 'स्वदेशमै गर्न सकिन्छ भन्ने सकारात्मक सोच र नेपाली इतिहास, प्रकृति र परम्परागत एवं सास्कृतिक ज्ञान,सीप र सम्पत्ति प्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्छ ।' उनले भने ।

पूजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने निष्कर्ष सुनाउदै पूर्वप्रधानमन्त्री प्रचण्डले देशलाई आत्मनिर्भरतातर्फ लैजान स्थानीय जनताको श्रम, सीप र सहभागितामा स्थानीय तहहरुले राज्यलाई घचेत्नुपर्नेमा जोड दिए ।

उनले सुशासन, सामाजिक न्याय र सम्वृद्धिको यात्रामा आफू नेतृत्वको अघिल्लो सरकारले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बाटो देखाएको दावी गर्दै आफू र आफ्नो पार्टीको तर्फबाट आत्मनिर्भरतातर्फका सबैखाले अभियानलाई सदैव साथ् र समर्थन रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

सो अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मनोविज्ञानलाई चिर्दै चाँगुनारायणमा स्वास्थ्य र सम्वृद्धिको विकासका लागि संचालित एभोकाड़ो अभियान सफल भएको बताए । उनले शहरी सुन्दरता, हरियाली प्रवर्द्धन र पर्यावरणको रक्षाको लागि पनि अभियानले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

स्वास्थ्य मन्त्री थापामगरले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेका कामहरुबारे बताउँदै आफ्नो नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भएका कामले प्रदेशको औचित्व छैन भन्नेहरुको मुख बन्द गरिदिएको दावी पनि गरे ।

चाँगुनारायण नगरपालिकामा ‘एक घर, दुई बोट एभोकाडो’ रोप्ने यस क्षेत्रमा अर्थराजनीतिका जानकार मानिने वौद्धिक नेता डिपी ढकालको परिकल्पना र मार्गनिर्देशन बमोजिम २०८० श्रावणदेखि संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत तीन वर्षमा १० हजार बढी घरमा २१ हजार एभोकाड़ोको विरुवा रोपिएका अभियानका संयोजक नरेश खड्काले जनाएका छन् ।

एक घरले एभोकाड़ो बेचेर कम्तिमा ३० देखि ५० हजार वार्षिक आम्दानी गर्ने अनुमान गरिएको अभियानका परिकल्पनाकार डिपी ढकालले बताएका छन । अभियानमार्फत चाँगुनारायणमा वार्षिक ४ करोड बढी अतिरिक्त आम्दानीको श्रोत सुनिश्चित गरिएको उनले दावी गरे । उत्पादित एभोकाडोको बजारीकरणमा पनि आफूहरुको स्पष्ट योजना रहेको उनले खुलासा गरेका छन् ।

अभियानमा करिब ३ सय अभियन्ताहरु सक्रियतापूर्वक सहभागी भएका र उनीहरुले पछिसम्म स्थानीयलाई प्राविधिक र बजार व्यवस्थापनका लागि सहयोग पुर्याइरहने अभियानका परिकल्पनाकार ढकालले जानकारी गराए । शुक्रवार तीन वर्षे कार्यक्रम समापनका अवसरमा अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेश सरकारका पूर्वमन्त्री कृष्णलाल भँडेल, वागमती प्रदेश सभाका सदस्यद्वय अमृता नेपाल र भुवनकेशरी श्रेष्ठ भावना, संविधान सभाका सभासदद्वय सत्यलाल मूल र उमा कपाली त्यसैगरी चाँगुनारायण नगरपालिकाका सस्थापक मेयर एवं नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति लगायत  सहभागि थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर