केन्द्रकाे आदेश विपरित मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे भण्डारी, कार्यकतालाई कार्यक्रममा नजाने उर्दी

विराटनगर । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सुटुक्क भेट गरेका छन् ।

भण्डारी बसेको विग होटलमा राति ८ बजेपछि पुगेका कार्कीले करिब १ घण्टा एक्लै भेटघाट गरेका थिए भने अन्य मन्त्रीहरुसहित केहि समय सामूहिक भेटसमेत गरेका थिए ।

एमाले केन्द्रीय समितिले सदस्यता नविकरण नगर्ने निर्णय गरेपनि त्यसलाई चुनौति दिँदै आएकी भण्डारीसँग कार्कीको भेटमा के कुरा भयो भन्ने खुलेको छैन । यद्यपी मुख्यमन्त्रीको कार्यालयले त्यसबारे कुनै जानकारी दिएको छैन । प्रतिष्ठानका उपकुलतिसँग भेटदेखि प्रहरी कर्मचारीसँगको विदाइसम्मको फोटो सार्वजनिक गर्ने उनको सचिवालयले भण्डारीसँगको भेटलाई गोप्य राख्न खोजेको छ ।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो एमाले नेता तथा कार्यकर्तासँग गर्दै आएकी छन् । भण्डारीलाई मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सामूहिक भेट गरेपछि कार्की र भण्डारीको एक्लाएक्लै भेट भएको हो ।

भण्डारीलाई विराटनगर आउँदा सोमबार प्रदेशकी राज्यमन्त्री सिर्जना राई र पार्टीका प्रदेश सचिव राजकुमार भण्डारीसहितका नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यसपछि राति मुख्यमन्त्रीसहित नेताहरुले भण्डारीलाई भेटेको भएपनि कार्यकर्तालाई भने भण्डारीसँग भेट नगर्न एमालेले उर्दी जारी गरेको छ ।

भण्डारीले मंगलबार दिउँसो पार्टी कार्यालय पाञ्चालिमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । नेकपा एमाले विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतले भने पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको दाबी गर्दै त्यहाँ नजान कार्यकर्तालाई उर्दी जारी गरेका छन् ।

‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज मंगलबार दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ,’ उनले लेखेका छन्, ‘नेकपा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झुटो प्रचार प्रसारप्रति नझुक्किनु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

बस्नेत एमालेमा ओली पक्षका नेता हुन् । मोरङको एमाले नेतृत्व र विराटनगर महानगर कमिटि भने भण्डारी पक्षधर छ । त्यहि भएर उनको लागि पार्टी कार्यालयमै कार्यक्रम राखिएको हो । त्यसो त मुख्यमन्त्री कार्की पनि भणडरीले सक्रिय राजनीतिमा आउन नहुने भन्दै केपी ओलीको पक्षमा खरो रुपले उत्रने नेता हुन् । तर, उनले सुटुक्क भण्डारीलाई भेट्ना आफूहरुलाई भने नभेट्न उर्दी जारी हुनु अनौठो भएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नदिने निर्णय गरिसकेको छ । भण्डारीका विषयमा छलफल बहस नगर्न पनि मातहतका कमिटीलाई एमाले केन्द्रको निर्देशन छ । त्यो निर्देशनविपरीत भेटघाट कार्यक्रम राखेको भन्दै ओली पक्षले पूर्वराष्ट्रपतिलाई भेट्न नजान कार्यकर्तालाई भनेको हो ।

ओली पक्षधर नेताहरूले स्थानीय नेता तथा कार्यकर्तालाई फोन गरेर पार्टी कार्यालय नजान धम्की नै दिएको भण्डारी पक्षका नेताहरूले बताएका छन् । बस्नेत मात्र नभएर प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेताहरूले कार्यकर्तालाई फोन गरेर भण्डारीको कार्यक्रममा नजान दबाब दिएको उनीहरुको भनाइ छ ।

‘पार्टी सत्ताको तुजुक देखाएर कार्यकर्ता धम्क्याउने काम भइरहेको छ,’ ती नेताले भने, ‘पार्टीको अग्रज नेता पार्टी कार्यालय आउँदा नजानु भनेर दबाब दिने कर्म त्रस्त मानसिकताको उपज मात्रै हो। कार्यकर्ताको भव्य उपस्थिति भइरहेको छ ।’ भण्डारी आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर