बनाडा अटो शोमा बैंकहरुको सस्तो अटोलोन प्रतिस्पर्धा, कतिमा दिदैछन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अटो कर्जा ल्याएका छन् । बैंकहरुले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शोलाई लक्षित गर्दै गाडी कर्जा (अटो कर्जा) मा आकर्षक ब्याजदर सहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

७ वटा वाणिज्य बैंकहरुले विभिन्न अवधिका लागि स्थिर र चलायमान ब्याजदरमा अटो कर्जा ल्याएका हुन् । नाडा अटो शोमा कर्जा अभियानमा नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, हिमालयन, सानिमा, एनएमबि र कृषि विकास बैंक सहभागी भएका छन् ।

अटो कर्जामा ७ बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजदर स्किम कृषि विकास बैंकले ल्याएको छ।

बैंकले हाल ५‍.८७ प्रतिशत रहेको बैंकको आधारदरमा ०.३६ प्रतिशत प्रिमियम थपि ६.२३ प्रतिशत अटो कर्जा दिने व्यवस्था गरेको छ । यसमा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ । यो कर्जाको अवधि ७ वर्ष रहेको छ । साथै कृषि विकास बैंक एक सरकारी बैंक भएका कारणले विश्वासनीय भरपर्दो र सस्तो ब्याजदर भएकाले अटो कर्जाका लागि यस बैंक उचित हुने बैंकले जनाएको छ ।

त्यसैगरी, नबिल बैंकले ७ वर्षसम्मको लागि ६.७४ प्रतिशत ब्याजदरमा अटो कर्जा ल्याएको छ । यसमा ०.५० प्रतिशत सेवा शुल्क लागू हुने बैंकले जनाएको छ भने ७ वर्षको स्थिर ब्याजदरको लागि ८.२५ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ । स्थिर दरमा कर्जा लिँदा ०.२५ प्रतिशत मात्रै शुल्क लाग्ने नबिलले जनाएको छ ।

त्यसैगरी, एनएमबि बैंकले भने नाडा अटो शो अवधिभर विद्युतीय गाडीका लागि ७.१३ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेको छ । यसरी अटो शोको अवसरमा विभिन्न बैंकहरूले ल्याएका यी योजनाले नयाँ सवारी साधन किन्ने इच्छुक ग्राहकलाई सहज मात्र होइन सस्तो ब्याजदरमा वित्तीय सुविधा उपलब्ध गराउने अवसर समेत दिने विश्वास लिइएको छ ।

लक्ष्मी सनराइज बैंकले ७ वर्ष अवधिका लागि ७।९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले नाडा अटो शोको अवसरमा दुई विकल्प उपलब्ध गराएको छ । यसमा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिने र ५ वर्ष अवधिको स्थिर दर रोजेमा ८.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंकले भने अरु बैंकको तुलनामा सबैभन्दा धेरै बर्षको लागि गाडी कर्जा ल्याएको छ । बैंकले ८ वर्षसम्मका लागि गाडी कर्जा ल्याएको हो, जुन अरु बैंकको तुलनामा लामो अवधि हो । बैंकले ८ वर्षको लागि ७.५७ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने अवसर उपलब्ध गराएको छ । जसमा आधारदरमा ०.८७ प्रतिशत प्रिमियम थपिएको बैंकले जनाएको छ ।

त्यसैगरी, सानिमा बैंकले ५ वर्षको अटो कर्जामा ७.९९ प्रतिशत स्थिर ब्याजदर लागू गर्ने जनाएको छ भने ७ वर्ष अवधिको कर्जामा ८.१५ प्रतिशत ब्याजदर लिनेछ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर