मारेर सुटकेशमा प्याक गरिएकाे शव भारतीय महिलाकाे

काठमाडाैं । रौतहटमा सुटकेशभित्र मृत भेटिएको महिला भारतीय नागरिक भएको खुलेकाे छ।
मृतक महिला रौतहटकै माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ। उनकाे घर भने भारत मुजफ्फरपुरमा हाे ।
मृतककी आमा र दाइले शवको सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए। उनी चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्।
माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन्। उनको श्रीमान भने भारतमै छन्।
शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।
डिएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले कुरेर बसेको थियो।
बिहान डिएसपी कार्की नेतृत्वको टोली घटनास्थल पुगेपछि सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको थियो।
सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको थियो।
शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ।
प्रतिकृया दिनुहोस