हैजाले महामारीको रुप लिन लागेपछि विरगञ्जमा स्कुल बन्द

जनकपुरधाम । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।
अहिलेसम्म हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । तर उनीहरूको मृत्यु हैजाकै कारण भए नभएको यकिन हुन बाँकी छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–९ की एक महिला र वीरगञ्ज महानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
उनका अनुसार महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा (कोलेरा) को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् । वीरगञ्जको नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुई जना हैजाका बिरामी उपचाररत रहेको ठाकुरले बताए । यस्तै महानगरको विभिन्न वडामा हैजाको महामारी समुदायस्तरमै फैलिएकाले बिरामीको संख्या बढ्दो छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत रहेको उनले बताए । नारायणी अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैंयाको अभावमा बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।
प्रतिकृया दिनुहोस