अन्तर्घातकाे आराेपः कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल बर्खास्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई बर्खास्त गरेको छ । पोखरेललाई साउन ११ गते नै जिम्मेवारीबाट मुक्त गरिएको पाइएको छ ।
पोखरेलविरूद्ध निर्वाचनका बेला प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भरतकुमार शाहलाई हराउन भूमिका खेलेको भन्दै पार्टी केन्द्रमा उजुरी परेको थियो ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकाले जिम्मेवारीबाट मुक्त गरिएको बताए ।
‘उहाँविरूद्ध रूपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नु भएको थियाे। त्यसै कारण पदमुक्त गर्न भनेको हुनुपर्छ,’ पुनले भने । २०७९ सालको निर्वाचनमा शाहले २७ हजार १२० मत पाएर नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेसँग पराजित भएका थिए ।
शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन् । २०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए भने २०७९ मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षी थिए । तत्कालीन सत्ता गठबन्धनका बीचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट बञ्चित भएका थिए ।
पदमुक्त गरिएका पोखरेलले आफूलाई अहिलेसम्म कसैले कारबाही गरेको र पदमुक्त गरेको भन्ने जानकारी नदिएको बताएका छन् । ‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवारविरूद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन । यस विषयमा सभापतिसँग सोध्छु,’ पोखरेलले भने ।
पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ । पोखरेल रूपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता हुन् ।
प्रतिकृया दिनुहोस