ओलीकाे प्रतिवेदन: रास्वपालाई राजनीतिक दलकाे मान्यता नै दिएनन्

काठमाडौं । नेकपा एमालेले पार्टीको राजनीतिक प्रतिवेदनमा ०७९ को निर्वाचनबाट चौथो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई राजनीतिक दलको सूचीबाट अलग राखेको छ।
कांग्रेस, माओवादी केन्द्र, मधेशकेन्द्रित दलदेखि राप्रपासम्मलाई राजनीतिक दल स्विकारेर उनीहरूको चरित्र चित्रण गरेका अध्यक्ष केपी ओलीले शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा रास्वपाको भने नामै लिएनन्। ओलीले राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गर्दै गर्दा पपुलिस्टहरूले दुरुपयोग गर्ने क्रममा आएको समूहका रूपमा मात्र रास्वपालाई इंगित गरेका छन्।
ओलीले कुनै वर्ग, आधार, सिद्धान्त, लक्ष्य र गन्तव्यविनाको दलको नाममा संगठित भइरहेको त्यस्तो समूह सेलाइसकेको र समाजले पनि पपुलिजम कुनै समाधान या विकल्प होइन भन्ने निष्कर्ष निकालिसकेको ठोकुवासमेत गरेका छन्। रास्वपालाई इंगित गरे पनि उनले प्रतिवेदनमा कतै पनि उसको नाम भने उल्लेख गरेका छैनन्।
ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए। विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो।’
समाजको सोही मनोविज्ञानलाई ‘पपुलिष्ट’हरूले दुरुपयोग गरेको उल्लेख गर्दै प्रतिवेदनमा थप भनिएको छ, ‘तर, उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक राजनीतिक स्पष्टता न विगतको कुनै बिरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह। तलाउमा देखापर्ने एउटा तरंगजस्तै यस्तो पपुलिजम उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो। हामीले सुरुदेखि नै भन्दै आएका थियौंँ– यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ– पपुलिजम कुनै समाधान या विकल्प होइन।’
प्रतिकृया दिनुहोस