मौद्रिक नीतिले पनि बढाएन घर-जग्गा कारोबार, कित्ताकाटमा अड्कियो गाँठो

काठमाडौं । राष्ट्र बैंकले घर-जग्गा मैत्री मौद्रिक नीति जारी गरेता पनि कारोबार भने बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२/०८३ शुरु भएयता नै घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांकअनुसार साउनमा कारोबारमा गिरावट आएको छ । २०८१ साउनमा नेपालभर ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । गत साउनमा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो।
गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभर ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५ सय ४३ वटा घरजग्गा कारोबार भएको थियो ।
समिक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार २० वटा घरजग्गाको कारोबार भएको छ । साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० वटा घरजग्गा कारोबार भएको देखिन्छ ।
यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चावहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १११ घर-जग्गाका कारोबार भएका छन् ।
चालु वर्षको मौद्रिक नीतिले पहिलो घर(जग्गा खरिद गर्नेलाई ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने योजना अघि सारेको छ । सो नीति कार्यान्वयन भएको २ महिना बित्न लाग्दा पनि कारोबार बढ्न सकेका छैनन् ।
साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीहरुले बताएका छन् । लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरेपनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।
उनकाअनुसार स्थानीय तहकले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष घिमिरेले भने–“घरजग्गा कारोबारको अवस्था सबैतिरबाट बन्द भएको अवस्था छ । हामीले राष्ट्र बैंकको नीति आएपछि अलि उत्साही भएका थियौं । बैंक तथा वित्तीय संस्थाहरुले पनि घरजग्गालाई कारोबार गर्न भ्यालु रेसियो बढाउने, होम लोन गर्नेलाई पनि २ करोडदेखि ३ करोडसम्म दिने भनेर राष्ट्र बैंकको नीति आइसकेपछि उत्साहजक तवरले हामी व्यवसायीहरु अघि बढिरहेका थिर्यौं । त्यो हुँदाहुँदै कित्ताकाट बन्द भयो र झ्याप्पै रोकियो । कित्ताकाट रोकिनु र बन्द हुनु सरकारकै कुरा हो । सरकारले वर्गिकरणको एक वर्ष म्याद थपेको थियो । त्यो असारमा सिद्दियो । असारमा सकिएपछि साउन १ गतेबाट कित्ताकाट रोकियो । सरकारले समयमै नखुलाउँदा घरजग्गा व्यवसाय ठप्प हुँदैछ ।”
अध्यक्ष घिमिरेले घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको बताए । सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस